काठमाडौँ– संस्कृतिविद् तथा सञ्चारकर्मी जनार्दन घिमिरेको आज बिहान उपचारका क्रममा निधन भएको छ ।


ADVERTISEMENT


शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा परेर करङमा चोट परेका घिमिरेको उपचारका क्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज बिहान निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराए।


ADVERTISEMENT

# # #


काठमाडौँबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जाने क्रममा भएको सो दुर्घटनमा उनका बुबा मुक्तिनाथ र आमा रत्नकुमारीको घटनास्थलमै निधन भएको थियो । उनका श्रीमती र बहिनी भने घाइते छन्।

घाइते भएपछि उनलाई उपचारका क्रममा काठमाडौँ ल्याइएको थियो । दोलखाको गौरीशङ्कर गाउँपालिकाको लामीडाँडा घर भएका घिमिरे भक्तपुरको कौशलटारमा बस्दै आएका थिए।

त्रिविका उपप्राध्यापक घिमिरे ‘रेडियो कान्तिपुर एफएम’मा धार्मिक कार्यक्रमका सञ्चालकसमेत रहेका थिए । उनी दोलखाको गौरीशङ्कर गाउँपालिकाका लामीडाँडा, बाब्रे गाउँलाई संस्कृतग्राम बनाउने अभियानमा रहेका थिए।

‘शब्द सन्दोह’ कृतिका लेखक घिमिरे ‘पाणिनी व्याकरणको धातुपाठ’सम्बन्धी विषयमा विद्यावारिधि गर्दै थिए। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता ४८ वर्षीय घिमिरेका दुई छोरा र एक छोरी छन् । उनको आज पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।