गोरखा–२०७२ सालमा प्रधानमन्त्रीको पदभार सम्हाल्दै गर्दा केपी शर्मा ओलीले दुई वर्षभित्र नेपाललाई तुइनमुक्त बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए । तर त्यसको तीन वर्ष पुग्दा पनि घ्याल्चोकका स्थानीयहरुले तुइनको विकल्प पाएका छैनन् ।


ADVERTISEMENT


ज्यानको बाजी राखेर उनीहरु तुइनबाटै त्रिशुली नदी वारपार गर्न बाध्य छन् । उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । ‘यहाँ खेति नगर्ने कोही छैनन्, सिजन अनुसारको सबै तरकारी हुन्छ,’ स्थानीय शैलेश रेग्मीले भने, ‘तर, उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन तुइनको विकल्प छैन ।’


ADVERTISEMENT

# # #


उनी ‘२०७४ साल असार मसान्तपछि कतै तुइन भेट्नुभयो भने फोटो खिचेर सिंहदरबारमा ल्याउनुहोला’ भनेर ओलीले भनेको सम्झँदै तुइनमै यात्रा गर्छन् । अर्का स्थानीय गणेशमान श्रेष्ठले तुइनको यात्रामा दुर्घटनाको जोखिम अत्यधिक हुने गरेको बताए । ‘केही बर्षअघि तुइनबाट दुई जना मान्छे खसे । बाँच्न त बाँचे तर अपाङ्ग छन्,’ उनले भने, ‘चढ्दा औंला काटिने, भाँचिने त सामान्य जस्तै भइसक्यो ।’

स्थानीयलाई त्रिशुली नदी वारपार गराउन ७० बर्षीय वृद्ध शुक्रबहादुर चेपाङ तुइन तान्ने गर्छन् । तर, बुढ्यौली शरीरका कारण उनले धेरै बल लगाउन सक्दैनन् । तुइनमा चढ्नेहरु आफैं लठ्ठामा झुण्डिएर तान्न सहयोग गर्नुपर्छ ।

‘लठ्ठा तान्दा हातभरि ठेला उठ्छ, फेरि गर्मीको बेला तातेर समाउन पनि सकिँदैन,’ स्थानीय भगवती श्रेष्ठले भनिन् ।

पारी जान केही सहज भए पनि आउँदा उकाले पर्ने भएकाले सकस हुने उनको भनाइ छ । श्रेष्ठका अनुसार जाँदा पाँच मिनेट लाग्छ भने आउँदा करिव २५ मिनेट । ‘आउँदा उकालो छ, ठाउँ–ठाउँमा रोकिँदै आराम गर्दै आउनुपर्छ,’ उनी भन्छिन्, ‘नदीको बिच भागको माथि रोकिँदा डर लागेर मुटुले ठाउँ नै छाड्छ ।’

यसअघि २०३२ सालमा गाउँदेखि केही माथि रहेको चाइना तुइनबाट स्थानीयहरु आवतजावत गर्थे । तर २०६७ सालमा तुइन नदीमा खसेपछि तुइनमा चढेका केही व्यक्तिको ज्यानसमेत गयो । लगत्तै झोलुङ्गे पुल निर्माण भयो ।

तर, घ्याल्चोकका स्थानीयहरुलाई भने पायक परेन । ‘त्यो पुल तरेर गएपछि हाइवेको बाटो हिँडेर फेरि यता र्फकनुपर्ने भएकाले आधा घण्टा बढि लाग्छ । फेरि भारी बोकेर हाइवेमा हिँड्दा गाडीले हान्देला भन्ने पनि डर हुन्छ,’ श्रेष्ठले भने ।

गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र धादिङको रोराङ गाउँपालिका चरौदी जोड्ने यो तुइन उत्पादित कृषि उपजसँगै स्थानीयहरुलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले २०६७ सालबाट सञ्चालनमा आएको हो । यहाँ पुल निर्माण भइदिए आउजाउमा सहज हुने स्थानीयले बताएका छन् ।

ठेकेदारको लापरवाहीले पुल निर्माण अलपत्र
पुल निर्माण पनि थालिएको थियो । तर, ठेकेदारको लापरवाहीका कारण चरौदी झोलुङ्गे पुल निर्माण कार्य अलपत्र परेको छ । २०७४ साल असोज १५ गते पुल निर्माण भइसक्नुपर्ने भए पनि हालसम्म काममा प्रगति हुन सकेको छैन ।

सस्पेन्सन बृज डिभिजन अन्तरगत बन्न लागेको पुल निर्माण गर्न तनहुँको नयाँ बाटो कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता भएको थियो । एक बर्षभित्र पुल निर्माण सम्पन्न गरिसक्ने गरी २६ मंसिर २०७३ मा एक करोड ८१ लाखको सम्झौता भएपनि हालसम्म काम सुरु नै भएको छैन । पुल निर्माण कार्यमा ठेकेदारको लापरवाहीले स्थानीयहरु तुइनको जोखिमपूर्ण यात्राबाट मुक्त हुन सकेका छैनन् ।

‘हामीले उत्पादन गरेको सबै तरकारी पारी चरौदीको सहकारी लान्छौ, पुल भइदिए धेरै सहज हुन्थ्यो,’ स्थानीय गणेश श्रेष्ठले भने । पुल निर्माण भए आवतजावत सँगै समयको समेत बचत हुने उनको भनाई छ ।

वडा अध्यक्षले पनि पुल निर्माणमा भएको ढिलाइप्रति खासै चासो नदिएको स्थानीयको आरोप छ । ‘खेति गरेर थोरै कमाउनेले पनि कम्तिमा बाषिर्क एक लाख नाफा कमाउछन्, तर उत्पादन गरेका तरकारीहरु बजार लानै समस्या छ,’ श्रेष्ठले भने ।

पुल निर्माण भए किसानहरुलाइै बढि लाभ हुने उनको भनाइ छ । पुल निर्माण भएमा बेनीगाउँ, तोरी स्वाँरा, तेर्से, वेनिवेशी लगायतका करिव पाँच सय घरधुरी लाभान्वित हुनेछन् । पुल निर्माणको ठेक्का पाएका ठेकेदार महेन्द्र अधिकारीलार्इ फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।