काठमाडौं–लाइसेन्स प्राप्त हतियारका कारण विभिन्न अपराधका घटना भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले ४ जनाको हतियार राख्ने इजाजतपत्र खारेज गरेको छ । महानगरीय अपराध महाशाखाले हतियार राख्ने ४ जनाको बारेमा अनुसन्धान गरी उनीहरूको लाइसेन्स खारेज गर्न जिल्ला प्रशासनलाई सिफारिस गरेको हो ।


ADVERTISEMENT


जिल्ला प्रशासन काठमाडौंबाट हतियार राख्ने इजाजत लिएका काभ्रे उग्रचण्डी २ का विरेन्द्रलाल श्रेष्ठ, काभ्रे बल्टीङ ४ का बलराम सापकोटा –बले, सोलुखुम्बुका आङकाजी शेर्पा र मोरङ डाँगीहाटका रगुनाथ पुरीको हतियार राख्ने इजाजतपत्र खारेज गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘लाइसेन्स लिएर हतियार राख्ने, त्यही हतियार शो गरेर विभिन्न अपराध गर्ने गरेको देखिएपछि हामीले उनीहरूको लाइसेन्स रद्द गर्न जिल्ला प्रशासनमा सिफारिस गरेका हौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने ।

लाइसेन्स लिएर हतियार राख्ने बले भन्ने बलराम क्यासिनो तथा मिटर ब्याजमा लगानी गर्ने रकम नउठेपछि हतियार देखाएर तर्साउने गरेको उजुरी परेपछि महाशाखाले उनको अनुसन्धान थालेको थियो ।

त्यसैगरी अन्य व्यक्तिहरूले हतियारका आडमा विभिन्न अवैध गतिविधि गरेको भेटिएपछि उनीहरूको इजाजतपत्र खारेज गरी हतियार नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।