काठमाडौँ–राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो ।


ADVERTISEMENT


संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष हुनेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ ।


ADVERTISEMENT

# # #


गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरुलाई गोला तान्न लगाइनेछ जसअनुसार दुईजनाको पदावधि दुई वर्ष, अर्को दुईजनाको चार वर्ष र दुईजनाको छ वर्ष हुनेछ ।

नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा दुई, चार, छ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि चार वा छ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।

गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ । रासस