पर्सा–वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर सार्ने मेशिनमा आगलागी हुँदा अन्दाजी दुई करोड मूल्य बराबरको क्षति भएको छ । सुख्खा बन्दरगाहमा एनसी ०२० ०१४९ नम्बरको ह्यास्टर अर्थात् रिटेस्टेकर मेशिनमा आगलागी भएको हो ।


ADVERTISEMENT


हाईवे रोडलाइन प्राली लेखिएको मेशिनको इन्जिन सट भएर आगलागी भएको अनुमान छ । आगलागीबाट मेशिन जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीमा परी भारत सीतामढी घर भई अपरेटरको काम गर्दै आएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसी राजन लिम्बुले जानकारी दिए । अपरेटर राउतको दायाँ हातमा सामान्य चोट लागेको छ ।


ADVERTISEMENT

# # #


बुधबार राति १०ः४० बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोगमा साढे ११ बजेतिर निभाइएको प्रहरीले जनाएको छ ।

‘लापरवाही गरियो’
बिजुली सर्ट भएर रिटेस्टेकरमा आगलागी हुँदा बन्दरगाहमै आगलागी हुने सम्भावना भएपनि कन्टेनर खाली भएका कारण थप क्षति हुन नपाएको नेपाल इन्टरमोडल यातायात विकास समिति निमित्त प्रमुख उज्जवल कुमार झाले जानकारी दिए । सुख्खा बन्दरगाह भित्रको फायर फाइटिङले काम नगरेकाले रिटेस्टेकर पूर्ण रुपमा जलेर नष्ट भएको उनको भनाइ छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको स्वामित्व रहेको ड्राइपोर्ट हिमालयन टर्मिनल प्रालीले ठेक्कामा सञ्चालन गरिरहेको छ । कुनै कमी कमजोरी देखिएमा समितिले आवश्यक निर्देशन दिन सक्ने सम्झौतामा उल्लेख छ । विल्डिङदेखि लिएर आइम्याक्स र फायर फाइटिङ जीर्ण अवस्थामा थियो । ६ महिना अघिदेखि पटक–पटक पत्र लेखेर जानकारी गराएर सम्पूर्ण कुरा समाधानका लागि जानकारी गराए पनि कम्पनीले पालना नगरेको समितिका निमित्त प्रमुख झाको भनाइ छ ।

‘एक महिनाको क्लियर नोटिस दिएपछि पनि समस्या समाधान नभएपछि दैनिक ५ हजार रुपैयाँ जरीवाना लिँदै आएका थियौं । तर पनि फायर फाइटिङ लगाएन । उसैको लापरबाहीले दुर्घटना भएको हो,’ उनले भने ।

उनले अघि भने, ‘सम्झौताअनुसार केन्द्रीय कार्यालयले दिएको निर्देशन कम्पनीले मान्नुपर्छ । तर हिमालयन टर्मिनलले अटेर गर्यो ।’