रत्ननगर, चितवन— चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बनेका छन्।


ADVERTISEMENT


उनलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए। सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ ।


ADVERTISEMENT

# # #


वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए।

त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई जेठ २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार मतदानको दिनको ४८ घन्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ ।

सात स्थानीय निकायमध्ये चितवनका पाँच नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २४७ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक महानगर र एक गाउँपालिका छ ।

जिल्लाका अन्य क्षेत्रमा निर्वाचनको तयारी अन्तिममा पुगेको र मतदान केन्द्रमा बुथ बनाउने काम तीव्र भएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।