धनगढी–एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’

यसअघि १३ जेठमा आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार रकम लुटेर भागेका थिए ।

स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् । उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।