नेपाली कांग्रेसका नेता तथा पश्चिम नवलपरासी–२ का निर्वाचित प्रतिनिधिसभा सांसद देवेन्द्र कँडेलसंग गरिएको कुराकानी :


ADVERTISEMENT


चुनाव जितेपछिको राजनीतिक गतिविधि कसरी अगाडि बढिरहेको छ ? केमा व्यस्त हुनुहुन्छ आजभोलि ?


ADVERTISEMENT

# # #


निर्वाचनमा सकिएको झण्डै महिनासम्म त हामी निर्वाचन क्षेत्रमा नै थियौँ । सदन आह्वान भएको थिएन । अहिले संघीय संसदमा बजेटमाथि सैद्धान्तिक छलफल भइरहेका छन् । त्यसमा नै व्यस्त छु भन्नुपर्छ ।

चारैतिर वाम गठबन्धनले चुनाव जितिरहँदा नेपाली कांग्रेसले थोरै ठाउँमा मात्र आफ्नो जित दर्ता गर्नसक्यो । त्यसमध्येको एउटा तपाई पनि हुनुहुन्छ । यसमा के भन्नुहुन्छ ?

समग्र रुपमा जुन किसिमको नतिजा आयो त्यो अप्रत्यासित त छँदैथियो । गणितीय हिसाबले दुई ठूला पार्टी एक भएर चुनाव लडेपछि नेपाली कांग्रेसकोे परिणाम यस्तो आउनु स्वभाविक नै हो । तर पनि एउटा कुरा के हो भने जनताको विश्वास अझैपनि नेपाली कांग्रेसप्रति छ । मेरो निर्वाचन क्षेत्रमा पनि गठबन्धनको लहर त थियो । मेरो भन्दा उनीहरुको झण्डै ८ हजार मत बढी थियो । तर त्यहाँ मैँले गरेका विगतका सामाजिक कामहरु, पारिवारिक अग्रजहरुले त्यो क्षेत्रमा निर्वाह गरेको योगदान, मेरो आफ्नै बुवाले त्यो ठाउँमा दिनुभएको योगदान आदीको प्रतिफल २०५१ र २०५६ मा पनि मैँले चुनाव जितेको थिएँ । त्यसपछि आफ्नो एक फरक पहिचान बनाइसकेपछि अहिलेको यो लहरमा गाह्रो हुँदाहुँदै पनि मैँले सहज जितेँ । यसबाट पनि के प्रमाणित हुन्छ भने जनताले पार्टी वा व्यक्तिभन्दा पनि उसको कामलाई मत दिँदा रहेछन् । यसका लागि म सबै मतदाताप्रति आभारी छु ।

कांग्रेसले गणीतीय रुपमा चुनावमा केही पछाडी परिरहँदा यसको समीक्षा कसरी भइरहेको छ ?

समीक्षा बैठक त धेरै समयसम्म चल्यो । बीचमा हाम्रा केन्द्री नेता श्रद्धय खुमबहादुर खड्काको निधनले गर्दा केही समय त्यो ब्रेक भयो । उहाँको अनुपस्थिति अहिले सबैले महशुस गरिराखेका छन् । तर जे हुनु थियो त्यो भइसक्यो । अहिलेको निर्वाचनमा गणीतीय रुपमा पार्टीको जुन किसिमको परिणाम आएको छ यसको समीक्षा भइरहेको छ । गुट उपगुटका कारण नै पार्टीले यो नतिजा बेहोर्नुपर्यो भन्ने किसिमका समाचार विभिन्न मिडियामा आए । तर पनि हामी सबै एक ठाउँमा उभिएर सामुहिक रुपमा यसको नैतिक जिम्मेवारी लिने गरी समीक्षा गरिरहेका छौँ । केन्द्रीय पदाधिकारीदेखि अन्य नेताहरुसम्म सबै एक भएर कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भइरहेका छन् । पार्टीमका बाँकी रहेका पदाधिकारीहरुको नियुक्ति पनि भइरहेको छ । त्यस कारण अब गाउँगाउँमा गएर कसरी संगठन बलियो बनाउने भन्ने विषयमा छलफल हुँदैछ । अब चाँडै नै यसको टुंगो लाग्छ ।

कांग्रेसको पुनर्जागरण गर्नका लागि तपाईहरु कसरी लाग्नुहुन्छ ? अबको निर्वाचनमा नेपाली कांग्रेस पहिलो हुने अवस्था आउन सक्ला त ?

होइन । राजनीतिमा उतार चढाव त भइरहन्छ । मतदातालाई हामीले चिन्नै सकेनौँ । हिजोका दिनमा द्वन्द्वको धङधङमा जसरी हामी अल्झिएका थियौँ । त्यो अवस्थालाई निकास दिने नेपाली कांग्रेस नै हो । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा नै यो मुलुकमा शान्ति आएको हो । जो जंगलमा थिए । उनीहरुलाई सडक हुँदै सदनसम्म पुर्याउने पनि नेपाली कांग्रेस नै हो । त्यसपछि सम्पूर्ण नेपालीले ठूलो राहतको महशुस गरे । जुन कुराको सम्पूर्ण विश्वले प्रशंसा गरेको थियो । यति हुँदा हुँदै पनि त्यसलगत्तैको निर्वाचनमा हामी जित्न सकेनौँ । माओवादी नै पहिलो दल बन्यो । त्यस्तै अहिले संविधान निर्माण गरेर स्थानीय निर्वाचन हुनसक्ला भनेर हामीले कल्पना गरेका थिएनौँ । मधेसमा आगो बलिरहेको थियो । तर पनि स्थानीय निर्वाचन भयो । प्रदेश र स्थानीय तहको निर्वाचन सम्भव छैन भन्थे त्यो पनि सम्भव भयो नेपाली कांग्रेसको नेतृत्वमा । यो भन्दा अगाडिको कुरा गर्ने हो भने वामपन्थीको नेतृत्वको पहिलो संविधान सभाले संविधान निर्माण गर्न सकेन । तर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशिल कोइराला नेतृत्वको सरकारले मलुकलाई संविधान दियो । त्यही मातहतमा रहेर हामीले नेपाली कांग्रेसको नेतृत्वमा तीन वटै निर्वाचन सम्पन्न गरायौँ ।

तर पनि हामीले जित हासिल गर्न सकेनौँ । त्यस कारण हामीले मतदाताको धारलाई मुल्याङ्कन गर्नै नसक्ने अवस्था सिर्जना भएको छ । हिजो कांग्रेसले प्रस्ताव गरेको अरुण तेस्रो ‘सेतो हात्ति’ हो, नेपालले यो थेग्न सक्दैन भन्नेहरु आज आफै सम्झौतामा हस्ताक्षर गर्दैछन् । हिजो नै एमालेहरुले हामीलाई सर्पोट गरेको भए आज मुलुक २० वर्ष पछाडी धकेलिनु पर्दैनथ्यो । यी कुराहरुलाई हामीले उठाउन सकेनौँ ।  विकास गरेपनि निर्वाचन जित्न सकिन्छ भन्ने अवस्था छैन । यसमा हाम्रो पनि कमी कमजोरी हुनसक्छ । हामीले यी उपलब्धीहरुलाई जनतामाझ स्पष्ट रुपमा बुझाउन नसकेका पनि हुनसक्छौँ । जनताको घरदैलोसम्म, उनीहरुले महशुस हुने गरी अब हामी जानुपर्छ । त्यही किसिमले आफ्ना रणनीतिहरु बनाउनुपर्छ । निर्वाचन त कहिले कसले जित्छ, कहिले कसले । अबको निर्वाचन हामी जित्न सक्दैनौँ भन्ने कुनै आधार छैन ।

अहिले कांग्रेस प्रमुख प्रतिपक्षीको रुपमा संसदमा छ । विकास र समृद्धिको कुरा गरिरहँदा अहिलेको सरकारका सुरुवाती कामहरुलाई तपाईहरुले कसरी हेरिरहनुभएको छ ? कत्तिको चित्तबुझ्दो छ ?

अहिलको सरकारसंग बहुमत छ । त्यतीमात्रै होइन दुई तिहाईको दम्भ पनि छ । हिजो नेपाली कांग्रेसको पनि दुई तिहाईको सरकार थियो । लोकप्रिय कामहरु गरेकै हो । तर त्यो बेलाको जुन किसिमको व्यवस्था थियो । त्यसलाई हामीले अंकुश लाउन सकेनौँ । हामी उल्टै फ्याँकियौँ । अहिले आएर दुई तिहाईको दममा क्षमता प्रदर्शन गर्ने र प्रतिपक्षका भावनालाई समेट्न सकेनन् भने २०३६ सालको जनमतलाई सम्झे हुन्छ । त्यसबेला पहेँलोले जितेको थियो । नीलोले हारेको थियो । तर अल्पमतको मूल्याङ्कन नगर्दा त्यही नीलोले सत्तालाई फालेको हो । त्यस कारण दुई तिहाईको दम्भ कसैले नदेखाए हुन्छ । अरु कामको मूल्याङ्कन त विस्तारै हुँदै जाला ।

बलियो प्रतिपक्षी बन्नका लागि त संसदमा एक भएर उभिनुपर्ला । तर तपाईको पार्टीभित्र विभिन्न विभाजन र फुट भएको हल्ला बाहिर आइरहेका छन् । अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ ?

लोकतान्त्रिक विचारलाई बोकेर हामी अगाडी बढेका छौँ । पार्टीभित्र जती पनि दोस्रो पुस्ताका नेताहरु देखिराखेका छौँ । चाहे शेरबहादुर देउवा होस् वा रामचन्द्र पौडेल । हिजो आपतको बेलामा उहाँहरु सबैले योगदान दिनुभयो । अहिले सत्ताका लागि वा पार्टीको नेतृत्वमा पुग्नका लागि टुग उपगुट गर्नुहुन्छ भने त्यो राम्रो होइन । सत्तासिनको जति महत्वपूर्ण योगदान हुन्छ। त्यो भन्दा बढी प्रतिपक्षीको हुन्छ । पार्टीमा बढी योगदान गरिसकेका नेताहरु छन् । अब उहाँहरुले व्यक्तिगत फाइदाभन्दा माथि उठ्नुपर्छ ।

अन्त्यमा, तपाईलाई नवलपरासीका जनताले तपाईलाई विश्वास गरेर जिताएका छन् । अब त्यो ठाउँका लागि गरेका प्रतिवद्धताप्रति तपाई कत्तिको प्रतिवद्ध हुनुहुन्छ ?

चुनावमा हामीले घोषणापत्र पनि लिएर गएका थियौँ । मैँले भन्दा पनि हाम्रा थुप्रै साथीहरु त्यसका लागि गएका थियौँ । किनभने यो टिमवर्क हो । म एउटा प्रतिनिधि मात्रै हुँ । हामीले गर्नुपर्ने बजेटका कुराहरु, त्यहाँका विविध समस्याहरुको समाधान हामीले सकेजति गरिरहेका छौँ र भोलिका दिनमा पनि गर्छौँ ।