चितवन(रासस)–नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन ।


ADVERTISEMENT


नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिँदैन ।


ADVERTISEMENT

# # #


खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९.६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९.८ प्रतिशत काम सम्पन्न भएको खनालले बताएका छन् ।

सो सडकको पाँचौँ पटक थप गरिएको मिति पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सम्पन्न भएको छ । पुनः मिति थपका लागि तीनवटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन् । हाल सो सडकको ४५० मिटरबाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रको काम सम्पन्न भएको छ ।

सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाँडामा आज साँझसम्ममा भित्तो काट्ने काम सकिन्छ भने दुई दिनमा कालोपत्रको पहिलो तह सम्पन्न हुने बताएका छन् । तेस्रो खण्डकै एङ्कर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ । सो सडक हेर्दैआएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ ।