काठमाडौं–सरकारले हुलाकी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमा नेपाल सरकारको २ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट २ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्ने सरकारको योजना छ ।


ADVERTISEMENT


सरकारले आयोजनाको निर्माणमा मात्रै ५ अर्ब २९ करोड रुपैयँ खर्च गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा भने सरकारले यो आयोजनाका लागि ४ अर्ब २७ करोड रुपैयाँ छुट्याएको थियो ।


ADVERTISEMENT

# # #


पृथ्वी राजमार्गको दक्षिणी क्षेत्रमा झापाको केचनाबाट सुरु भएर पश्चिममा कञ्चनपुरको दोधरा चाँदनीसम्म जोड्ने यो सडकको लागत २५ अर्ब अनुमान गरिएको छ । जसमा भारत सरकारले १२ अर्ब बराबरको अनुदान दिने घोषणा गरेको छ ।

सुरुमा यो आयोजना चालु आर्थिक वर्षमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर लक्ष्य अनुसार कार्यप्रगति हुन नसकेपछि अहिले यो आयोजना आर्थिक वर्ष २०७७/०७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो सडक १ हजार ६ सय ६३ किमी लामो हुनेछ । जसमा १ सय २५ वटा पुलहरुको निर्माण हुने सडक विभागले जानकारी दिएको छ । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट पुल निर्माणका लागिसमेत भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा यस सडकको ६७ किमी ग्राभेल गरिसकिएको सडक विभागले जानकारी दिएको छ ।