धनुषा(रासस)–प्रदेश २ मा लालबाबु राउत नेतृत्वको सरकारलाई अहिले तत्काल विश्वासको मत लिनु नपर्ने स्थिति देखिएको छ । प्रदेश २ का सभामुख सरोज यादवले गठबन्धन दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत माग्नु पर्ने स्थिति आउने बताएका थिए ।


ADVERTISEMENT


सभामुख यादवले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राउत नेतृत्वको गठबन्धन तत्काल नढल्ने बताएका छन् । उनका अनुसार कानूनतः सरकार बाहिर रहेका दलले समर्थन फिर्ता लिँदा कुनै असर पर्दैन । सभामुख यादवले भन्नुभयो, “राजपाले पनि समर्थन फिर्ता लिएको भए मुख्यमन्त्रीले विश्वासको मत लिनुपथ्र्यो तर, अहिले त्यो अवस्था छैन । राजपा सरकार मै छ ।”


ADVERTISEMENT

# # #


नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब प्रमुख प्रतिपक्षी बन्न पुगेको छ । सदनमार्फत सरकारको समर्थन फिर्ता लिएपछि कानूनतः अब नेकपा प्रतिपक्षी दल बनेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सदनमा नेकपाको सदस्य संख्या ३२ छ । अहिलेसम्म प्रमुख प्रतिपक्षीको हैसियत पाएको काँग्रेससँग १९ सांसद छन् । नेकपा ठूलो प्रतिपक्षी दल बनेपछि अब यो हैसियत उसले नै पाउने प्रदेशसभा सचिवालयले जनाएको छ । अब हुने सदनको बैठकमा नेकपालाई प्रमुख प्रतिपक्षी दल बनाउने तयारी सरकारले गरेको बताइएको छ ।

काँग्रेस प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादवले अब नेकपालाई प्रमुख प्रतिपक्षी दल बनाउँदा आपत्ति नहुने बताएका छन् । प्रदेशसभामा १०७ सिट छ जसमा फोरम–राजपा गठबन्धनसँगै सरकार गठनका लागि आवश्यक संख्या छ ।

सरकार गठनका लागि ५४ सिटको आवश्यकता पर्छ । गणितीय आधारमा बाँकी सबै दल एक हुँदा पनि सरकार गठनका लागि आवश्यक सिट संख्या अपुग हुने देखिन्छ । नेकपा, काँग्रेस, संघीय समाजवादी पार्टी र स्वतन्त्रको सिट संख्या जोड्दा ५३ मात्र पुग्छ ।

यता प्रदेशसभाको आइतबारको बैठकमा राजपा नेता मनिष सुमनले सरकारबाट हालसम्म विभिन्न कमीकमजोरी भएको भन्दै आलोचना गरेका थिए । उनले भने, “हामीले सरकारलाई समर्थन दिनुको अर्थ आफ्नो हात बाँधेको होइन, सरकारले जनभावनाअनुरुप काम गर्न सकेन भने हामी पनि सोच्न बाध्य हुनेछौँ ।”