काठमाडौँ– लामो समय बन्द रहेको नेपाल औषधि लिमिटेडले पुन: औषधि उत्पादन सुरु गरेको छ । पहिलो चरणमा आइतबारबाट जीवनजलको उत्पादन सुरु गरेको हो ।


ADVERTISEMENT


‘आगामी ३ महिनाभित्र सिटामोललगायतका अन्य ट्याब्लेटहरू उत्पादन गरी बजारमा पुर्‍याउने लक्षका साथ नवीकरण र आवश्यक मेसिनहरू खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी कार्य अगाडि बढेको छ,’ उद्योग मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘दोस्रो चरणमा लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दा बढी प्रकारका नयाँ औषधिसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।’ तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधि, झोल तथा मलमहरू उत्पादन गर्ने गरी अति आवश्यक औषधिहरूको उत्पादनलाई समेत अगाडि बढाउने जनाएको छ ।


ADVERTISEMENT

# # #


‘राष्ट्रिय स्वास्थ्य नीति ०७१ को उद्देश्यअनुरूप स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारबाट निस्शुल्क वितरण गरिने ७० प्रकारका औषधि तथा सरकारका सूचीकृत अत्यावश्यक औषधि उत्पादन गरी नेपाल सरकारलाई नै उपलब्ध गराउने गरी योजना अगाडि बढाउने जानकारी गराउँछौं,’ विज्ञप्तिमा छ । आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन ०२१ अन्तर्गत सरकारी स्वामित्वमा लिमिटेडको स्थापना ०२९ मा भएको थियो ।

उक्त उद्योगले १ सय २० थरीका औषधि उत्पादन गरी बजारमा बिक्री गर्दै आएको थियो । ०६६ देखि उद्योग पूर्ण रूपमा बन्द थियो । ‘नेपाल औषधि लिमिटेडले पुन:उत्पादन सुरु गरेको जीवनजलको उत्पादन कार्यको उद्योगमन्त्री नवीन्द्रराज जोशीले आइतबार एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्री जोशीले कार्यभार सम्हालेपछि सरकारी स्वामित्वमा रहेर तर विभिन्न कारणले बन्द उद्योगहरूलाई प्राथमिकताका आधारमा पुनस् सञ्चालन गर्ने कार्यक्रम अघि बढाएका थिए । सोही कार्यक्रमअन्तर्गत सरकारले औषधि उत्पादनका लागि विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले तय गरेको डब्लूएचओजीएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्न सरकारका तर्फबाट १४ करोड ६५ लाख रुपैयाँ ऋण लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

जसअन्तर्गत पहिलो किस्ताबापत ६ करोड ४८ लाख रुपैयाँ निकासा भइसकेको छ ।