प्युठान–नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेताहरुको अलिशान जीवन शैलीले मुलुक परिवर्तन हुन नसक्ने बताएका छन् । उनले सुगाको जस्तो रटानले सुशासन नआउने भन्दै सुशासनको शुरुआत प्रधानमन्त्री केपी ओलीबाटै हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT


नेपाल प्रेस युनियनले बिहीबार प्युठानको बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले भने, ‘कागले कराएको जस्तो, सुगाले रटान लगाएजस्तो गरेर सुशासन आउँदैन । प्रधानमन्त्री, मातहतमा सुशासन हुनु पर्छ ।’


ADVERTISEMENT

# # #


उनले एमाले र माओवादीबीचको एकतालाई सत्ताको जोडघटाउ भनेर टिप्पणी गरे । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले देशलाई आर्थिक समृद्धिमा डोर्‍याउने भनिरहेका बेला कांग्रेस नेता गुरुङले भने, ‘पार्टी एकीकरणले मात्र मुलुक बन्दैन । यो केवल सत्ताको जोड घटाउ हो ।’

नेपाली राजनीतिमा नैतिकता हराएको बताउँदै उनले राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएको टिप्पणी गरे । नेताहरु स्वार्थी बन्दा जनताले सुशासनको पनि अनुभूति गर्न नपाएको उनको भनाइ थियो । ‘जनजिविकाका सवालमा हामी नेताहरु बदलिन सकेनौं । नेताहरु परिवर्तन हुनुपर्छ । नेताहरुको अलिशान जीवनशैलीले मुलुक परिवर्तन हुनै सक्दैन,’ उनले भने, ‘कहिलेसम्म नेपालीले परिवर्तनका लागि योगदान गर्ने ? अब परिवर्तनको महसुस हुनैपर्छ ।’

मुलुक संघीय संरचनामा गए पनि नेपाली कांग्रेस अझै पुरानै संरचनाअनुसार चलिरहेको भन्दै भन्दै उनले पार्टीको विधान संशोधनमा जोड दिए । सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताए ।