ब्रह्मदेव, कञ्चनपुर– यहाँ बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन् ।


ADVERTISEMENT


सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ ।


ADVERTISEMENT

# # #


झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन परिवारमात्रै राउटे समुदायको बसोबास छ । भीमदत्तनगरपालिका–९ खल्लामसेट्टीमा दुई तथा सोही वडाको मटेनामा एउटा राउटे परिवार डेढ दशकदेखि बस्दै आएको छ । दार्चुलाको साविक लाली गाविसबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित खल्लामसेट्टीमा बसाइँ सरेका राउटे परिवार भत्ताकै सहारामा बाँचिरहेका छन् ।

“गाउँका पसलबाट उधारोमा खाद्यान्न मागेर छाक टार्दैआएका छौँ,” खल्लामसेट्टीका ६६ वर्षीय जयलाल राउटेले भने, “भत्ताको रकमले उधारो तिर्ने गर्छौँ ।” लामो समयदेखि भत्ता नपाउँदा परिवारको खर्च टार्न समस्या भइरहेको उनको भनाइ छ ।

“पहिले त महेन्द्रनगर बजार पुगेर भत्ता लिन्थ्यौँ,” उनले भने, “अहिले वडामै वितरण हुन्छ भन्ने सुनेका छौँ, पाएका भने छैनौँ ।” उनका दुई छोरा मजदूरीका लागि भारत र दार्चुलामा छन् । वन जंगल सामुदायिक वन बनाएपछि काठका सामग्री बनाएर बिक्री गर्न समस्या भएको उनले बताए ।

“जोगबुढा बस्दासम्म जंगलबाट काठ ल्याएर विभिन्न सामग्री बनाएर गाउँमा बेचेर खर्च चलाउँथ्यौँ,” उनले भने, “गाउँमा सुख होला भनेको, यहाँ त पानीको प्यास मेटाउन पनि गाह्रो छ ।” गाउँमा ज्याला मजदूरीको काम गर्दै आएका उनले स्थानीयदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नेताहरुले घरबासको व्यवस्था मिलाइदिने आश्वासन दिएको बताए ।

“चुनाव जितेपछि हाम्रो झुपडीमा कोही पनि नेता आएका छैनन्,” उनले भने, “संस्थाको सहयोगले धारा जडान हुँदा धन्न पानी पाएका छौँ ।” गाउँमा बिजुली, खानेपानी, सडकलगायत धेरै समस्या रहेको सुनाउँदै उनले तत्काल राउटे भत्ता उपलब्ध गराइदिन मागसमेत गरे ।

“जंगलका जुँ, मँइ, हलो, बनाएर बेच्नुको आनन्द नै बेग्लै थियो ।” जयलालले विगत सम्झँदै भने, “कहिलेकाहीँ दुम्सीको मासुसमेत खान पाइन्थ्यो ।”

त्यसैगरी घर नजिकैको खोलामा तटबन्ध निर्माणमा जुटेकी जयलालकी पत्नी कुणीदेवीले भत्ता नपाउँदा पसलेले उधारोमा सामान दिन छाडेको बताइन् । “कमाइ खान जग्गा छैन, उही उधारोमा बाँचेका छौँ,” उनले भनिन्, “गाउँघरमा मजदूरी गर्दा पाइने रकमले सहयोग पुग्छ ।”

गरिबी निवारण कोषले गाउँमा सञ्चालन गरेको बाख्रापालन तालीममा जयलालकी बुहारी कमला सहभागी भएकी छन् । तालीम लिएपश्चात् समूह बनाएर ऋण उपलब्ध गराए बाख्रापालन गर्ने योजनामा रहेकी कमलाले आम्दानी बढ्ने बताइन् । टहरा छाएको त्रिपाल च्यातिएकाले यसपालिको वर्षात् कसरी गुजार्ने भन्ने चिन्तामा जयलाल रहेका छन्।

“भत्ता पाएपछि नयाँ त्रिपालले छाउने भनेको सपना जस्तै भो,” उनले भने, “वर्षात्मा त पानीले बस्नै सकिएला जस्तो छैन ।”

यस्तै, बड्सिंह राउटे भत्ता नपाएकै कारण परिवारको बिचल्ली हुने अवस्था आएको बताउँछन् । विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंहले परिवारका पाँचजनाले भत्ता नपाएको गुनासो गरे । आगामी असारसम्म भत्ता पाउने हल्ला चलिरहेको बताउँदै उनले भत्ताको रकमले खाद्यान्न खरिद गर्ने योजना रहेको सुनाए । “यहाँ आएपछि जंगल छुट्यो,” उनले भने ।

बड्सिंह भने, “कहिलेकाहीँ गाउँघरमा ज्यालादारीमा काम गर्न जान्छु ।” घरमा आउने नेताहरुले आश्वासन धेरै दिने गरेको भए पनि घर बनाउन कुनै पहल नगरिदिएकामा उनी निराश छन् ।

डेढ दशकअघि आफूहरुसित जोगबुढाबाट आएका १० परिवार राउटे यहाँबाट पलायन भएका छन् । “यहाँ त बाँच्नै मुस्किल छ, बसेर के गर्नु,” बड्सिंहले भने, “गाउँ समाजमा विभेद हुँदा पलायनको सम्भावना रहन्छ ।” जंगलमा हुँदा बनाएका भाँडाकुँडा साटेर गाउँबाट खाद्यान्न ल्याउने गरेको विगत सम्झिँदै उनले भने, “सरकारको भत्ताको त कुनै ठेगान नै नहुँदो रैछ ।”

भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले राउटेको घरबासका लागि पहल गर्ने बताए । “राउटे समुदाय सामान्य झुपडी बनाएर आश्रय लिँदैछ ।” उनले भने, “दैनिकी टार्न समस्या छ ।” वडा कार्यालयले जेठ दोस्रो साताभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनको भनाइ छ । – शेरबहादुर सिंह/रासस