काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो ।


ADVERTISEMENT


एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा ओली र नेपाललाई दिएको थियो ।


ADVERTISEMENT

# # #


दुवै नेताले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तय गरेका हुन् । थपिने केन्द्रीय सदस्यको सूची औपचारिक रुपमा सार्वजनिक भएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा. युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् ।

युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।

तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा पुगेका छन् । शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन । नेकपाका महासचिव विष्णु पौडेलले चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने प्रतिक्रिया दिए ।