काठमाडौं–रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा तेस्रो हुँदै यो सिजनको अन्त्य गरेको छ । दोस्रो हुन संघर्ष गरिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड लिग अन्तर्गत शनिबार राति भएको अन्तिम खेलमा भिल्लारियलसँग बराबरीमा रोकिएको हो । यो बराबरीले रियल तेस्रो स्थानमै सीमित हुन बाध्य भयो ।


ADVERTISEMENT


सिजनको अन्तिममा आएर पनि रियल मड्रिडले लिगमा चाहिएको जति राम्रो प्रदर्शन गर्न सकेन । सुरूमा दुई गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियल मड्रिड भिल्लारियलसँग २–२ को बराबरीमा रोकिन बाध्य भयो ।


ADVERTISEMENT

# # #


रियल मड्रिडका लागि ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । खेलको ११ औँ मिनेटमा बेलले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । ३२ औँ मिनेटमा स्टार स्ट्राइकर रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

पहिलो हाफ २–० ले अगाडि रहेको रियलले पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन । भिल्लारियलका लागि मार्टिनेज र कास्टिलेजो एजुएगाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ७० औँ मिनेटमा मार्टिनेज तथा ८५ औँ मिनेटमा कास्टिलेजोले गोल गरे । आगामी शनिबार किएभमा हुने लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलको तयारीमा रहेको रियल मड्रिडले यो सिजन घरेलु लिगमा राम्रो प्रदर्शन गर्न सकेन ।

बराबरीपछि तेस्रो स्थानमा लिग टुङ्ग्याएको रियल मड्रिडको लिगमा सबै ३८ खेलबाट ७६ अंक भएको छ । यस्तै एक खेल खेल्न बाँकी रहेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहदै ७८ अंक जोडेको छ । यस्तै चौथो स्थानमा रहेको भ्यालेन्सियाको ७० तथा पाचौ स्थानमा रहेको भिल्लारियलको ६१ अंक छ ।

यसअघिनै उपाधि जितिसकेको शीर्ष स्थानको बार्सिलोनाको ३७ खेलबाट ९० अंक भएको छ ।