काठमाडौं–नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । बुधबार विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि आज पार्टी एकता गर्ने सहमति बनेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो । त्यसपछि दुवै पार्टीले आन्तरिक बैठक बोलाएर सहमति अनुमोदन गरेका हुन् । गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तो छ कार्यसूचि छ

–विहान ८ बजे मदन स्मृति दिवस मनाउने
–१० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने
–११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने
–१ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने
–३ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
–४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा बिहिबार गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष ओलीसहित केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने भएका छन् । एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ ।

एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नयाँ बन्ने पार्टी केन्द्रीय समितको खाका तयार गरेको हो ।बैठकले प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

पछिल्लो पटक वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि टरेको थियो । त्यसपछि नेताहरूबीच दूरी बढ्दै गएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता थप भाँडिएको सन्देश नजाओस् भनेर दुवै पार्टीका नेताहरूले एकतामा जोड दिएका थिए ।