काठमाडौं–रक्षामन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काम नगर्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई शपथ गराउँदै पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जोडिन आग्रह गरे ।


ADVERTISEMENT


‘कामबाट अलग भएर बतासिने एमाले अब काम लाग्दैन’, पोखरेलले भने, ‘अब कार्यकर्ताले भुँइतिर फर्किएर हेर्नुपर्‍यो, सम्भावनाहरु पहिल्याएर त्यसबाट लाभ लिनसक्नु पर्‍यो ।’


ADVERTISEMENT

# # #


अधिकार प्राप्तिको आन्दोलनमा जनता धेरै दौडिएको भन्दै उनले अबको यात्रा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताए । ‘अब जेल बसेका, भूमिगत र निर्वासित भएका कुरा गरेर कसैको राजनीति चल्दैन,’ पोखरेलले भने, ‘जनताको जीवनलाई समृद्ध बनाउने काम र योजना तथा संकल्प जोसँग छ त्यसले नै अब मुलुकको राजनीतिक हाक्छ ।’

उनले कम्युनिस्ट पार्टीमा अब पूर्णकालीन राजनीति चल्न नसक्ने स्पष्ट पार्दै कामबाट बचेको समय पार्टीलाई दिन कार्यकर्तालार्इ आग्रह गरे । पोखरेलले अगाडि थपे, ‘२४ घण्टामा दुई घण्टा मात्रै पार्टीलाई समय दिनुस, तर आर्थिक उत्पादनमा मज्जाले लाग्नुहोस् ।’