काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण शुरु भएको छ । उनको नेपाल भ्रमण जनकपुरबाट शुरु भएको छ । भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आज बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।


ADVERTISEMENT


जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । भ्रमण कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जानेछन् ।


ADVERTISEMENT

# # #


मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहनेछ । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो हेलिकोप्टरबाट काठमाडौँतर्फ प्रस्थान गर्नेछन् ।

आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नेछन् । त्यसपछि आजै प्रधानमन्त्री मोदी शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै द्विपक्षीय आपसी हित सम्बन्धमा औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिनेछ ।

भोलि वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ प्रस्थान गर्नुहुनेछ । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०ः३० बजे मुक्तिनाथबाट काठमाडौँ फिर्ता हुनेछन् ।

प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २ः४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछन् । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी उनी वैशाख २९ गते नै स्वदेश फिर्ता हुनेछन् ।