काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आज (शुक्रबार) नेपाल आउँदैछन् ।


ADVERTISEMENT


भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । राजनीतिक तहमा हुने यस्ता उच्चस्तरीय भ्रमणले एकार्काका पीरमर्का र विकासका आकांक्षा बुझ्न मद्दत मात्र पुग्दैन बदलिँदो विश्व परिवेशमा मतैक्यताका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्न सघाउँछ ।

प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा गरेका तीन ‘ट्विट्’ले नेपालसँगको अनादिकालदेखिको भारतको परम्परागत सम्बन्धलाई नयाँ आलोकमा प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ । “लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ” नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्न सबल साझेदार हुने उत्कृट अभिलाषा उनले अभिव्यक्त गरेका छन् ।

त्यस्तै अर्को ट्विटमा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको प्रष्ट्याउँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्ना समकक्षी ओलीसँग सघन वार्ता गर्ने बताएका छन् । निश्चय पनि उनको यो अभिव्यक्तिले विगतका रिक्तता र तिक्ततालाई तिलाञ्जलि दिएको संकेत मात्र गर्दैन भविष्यमा नेपाल–भारत मैत्री नयाँ नेपालको नयाँ संविधान जारी हुनुपूर्वको अवस्थामा पु¥याउने अपेक्षा गर्न सकिन्छ ।