काठमाडौँ – सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।


ADVERTISEMENT


ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन बिजिआइपियूका सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज सभामुख महरासँग भेटवार्ता गरेको हो ।


ADVERTISEMENT

# # #


त्यस अवसरमा सभामुख महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताए । “नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ”, उनले भने, “जनता–जनता बीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।”

नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताए । “हामी संघीयताको अभ्यास गर्दैछौँ, अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन गरिरहेका छौँ”, उनले भने, “बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदान प्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौँ ।”

बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माण लगायतका क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको बताए ।

प्रतिनिधिमण्डलका नेता इभान्सले दुई देशको सम्बन्ध निकै समधुर र प्रगाढ रहेको बताए । उनले नेपाल पर्यटनका हिसाबले निकै सुन्दर देश भएको बताउँदै हरेक वर्ष थुप्रै बेलायती नागरिकहरु नेपाल भ्रमण गर्न आउने गरेका जानकारी दिए ।

भेटवार्तामा उपसभामुख शिवमाया तुम्वाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति थियो । रासस