काठमाडौं–अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकामा हुने अनियमितता रोक्न ‘मुहान सफा गर्ने’ बारम्बार बताए पनि वर्षौंदेखिको व्यापारी र कर्मचारीको ‘दस्तुरी’को जालो भत्काउन सकेका छैनन् ।


ADVERTISEMENT


फागुन १४ मा अर्थमन्त्रीको जिम्मेवारी लिएलगत्तै खतिवडाले भन्सार बिन्दुमा भइरहेको अनियमिता हटाएर ‘मुहान सफा’ गर्दै राजस्व बढाउने बताएका थिए ।


ADVERTISEMENT

# # #


खतिवडा अर्थमन्त्री भएको दुई महिनाभन्दा बढी भए पनि उनले भने अनुसार राजस्व असुली बढ्न सकेको छैन ।

भन्सार विभागका अनुसार खतिवडा अर्थमन्त्री हुनुभन्दा अगाडि प्रत्येक महिना औसत २४–२५ अर्ब रुपैयाँ राजस्व असुली हुन्थ्यो । फागुनपछि वैशाख १५ सम्म आउँदा यो तथ्यांकमा परिवर्तन भएको छैन ।

अर्थमन्त्री खतिवडाले मुख्य–मुख्य भन्सार कार्यालयका प्रमुखलाई काठमाडौंमै बोलाएर राजस्व असुलीमा कडाइ गर्न निर्देशन दिएका थिए । खतिवडाले भनेका थिए, ‘सरकारले तोकेको राजस्वको लक्ष्य ‘फ्लोर’ मात्र हो र त्योभन्दा धेरै राजस्व उठ्छ र उठाउनैपर्छ । यो नै मेरो बटमलाइन हो ।’

अर्थमन्त्रीले निर्देशन दिएको १–२ दिन राजस्व असुली उच्च पनि भएको थियो । त्यसपछिको संकलन चालु आवका अन्य महिनाभन्दा फरक छैन । मेला, पर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका छन् ।

नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको थियो ।