काठमाडौं–प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई नै अभाव भएपछि प्रदेश २ सरकारले आठवटा गाडी किन्ने भएको छ । प्रतिगाडी ६० लाखका दरले खरिदका लागि सरकारले पाँच करोड छुट्याएको छ ।


ADVERTISEMENT


गाडी समस्या समाधान गर्न चालू आर्थिक वर्षमै आठवटा गाडी खरिदका लागि बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बिसुकुमार केसीले जानकारी दिए । मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूका लागि गाडी खरिद गर्ने उनले बताए । केन्द्र सरकारले दिएकामध्ये प्रदेश प्रमुख र मुख्यमन्त्री चढ्ने गाडी नै पटकपटक बिग्रिने गरेका छन् । अन्य मन्त्रीका गाडी पनि कन्डिसनमा छैनन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालका अनुसार संघीय सरकारले उपलब्ध गराएका पाँचमध्ये दुई गाडी मात्र चल्ने अवस्थामा छन् । मन्त्रीका लागि अहिले प्रयोग भइरहेका गाडी प्रदेशभित्रैका सरकारी कार्यालयबाट उपलब्ध गराएको उनको भनाइ छ ।

केही महिनाअघि नै प्रदेशले संघीय सरकारलाई २० वटा गाडी आवश्यक रहेको भन्दै पत्राचार गरेको उनले बताए । तर, अहिलेसम्म नपठाएको उनको भनाइ छ । सचिव फुँयालले भने, ‘हामीसँग भन्नलाई अहिले ३९ वटा गाडी छन्, तर आधाभन्दा बढी गाडी खराब छन्, मुख्यमन्त्री वा मन्त्रीहरू कहीँ जाँदा बिग्रेको खण्डमा अर्को गाडी पठाउनुपर्ने बाध्यता छ ।’ गाडीको अभावमा अहिलेसम्म सांसद रहेका विभिन्न समितिका अध्यक्ष तथा मन्त्रालयका सचिवलाई पनि गाडी उपलब्ध गराउन नसकिएको सचिव फुँयालले बताए ।

होटल र डेरामा राज्यमन्त्रीहरू
प्रदेश सरकारका मन्त्रीलाई जसोतसो आवासको व्यवस्था गरिए पनि तीनजना राज्यमन्त्रीले अहिलेसम्म आवास पाउन सकेका छैनन् । आवासको व्यवस्था नहुँदा राज्यमन्त्रीहरू भाडाको कोठमा बस्दै आएका छन् । कोही होटलमा बसिरहेका छन् ।

आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह (कुशवाह)ले आवासको व्यवस्था नहुँदा होटलमा बस्ने गरेको बताए । उनले भने, ‘अहिलेसम्म आवासको व्यवस्थापन हुन सकेको छैन, बस्नुपर्ने बाध्यता छ ।’ कहिले काहीँ होटलमा पनि कोठा नपाउँदा महोत्तरीको बलवास्थित गाउँमै गएर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जनकपुरबाट बलवा करिब २० किलोमिटर टाढा छ ।

त्यसैगरी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले जनकपुर उपमहानगरपालिका–८ मा डेरा नै लिएर बसिरहेकी छिन् । होटलको बसाइ महँगो भएकाले कोठा नै भाडामा लिई बसेको उनले बताइन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालले जनकपुर चुरोट कारखानाभित्रै कर्मचारी बस्ने कोठाको मर्मतसम्भार गरी आवासको व्यवस्थापन मिलाइरहेको बताए । उनले राज्यमन्त्रीहरूको आवास व्यवस्थापन वैशाखभित्रै हुने बताए ।