काठमाडौँ– सरकारले ल्याएको संविधान संशोधन विधेयक आज निर्णयार्थ पेश हुँदैछ। आज बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयकमाथि परेका संशोधनमा दफावार छलफल हुनेछ। दफावार छलफल सकिएपछि कानुन न्याय तथा संसदिय मामिला मन्त्री अजय शंकर नायकले प्रस्तावबारे आफ्नो जवाफ दिनेछन्।


ADVERTISEMENT


मन्त्री नायकले जबाफ दिइसकेपछि एकीकृत प्रस्तावलाई संसदमा निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता भरत गौतमले सेतोपाटीलाई बताए। यदि दलहरूबीच संविधान संशोधन विधेयकलाई अगाडि बढाउने विषयमा राजनीतिक सहमति हुन सकेन भने कार्यसूची अनुसारको प्रक्रिया अगाडि बढ्दैन। संविधान संशोधन विधेयकमाथि ५१ वटा संशोधन परेका छन्। तर, आइतबार नै मतदान हुन्छ भन्नेमा अन्यौल देखिएको छ। मधेसी मोर्चाकै एक प्रमुख घटक संघीय समाजवादी फोरमले सीमाकंनको विषयमा कांग्रेससँग कुरा नमिलेको भन्दै छुट्टै संशोधन प्रस्ताव दर्ता गराएको छ।


ADVERTISEMENT

# # #


उसका तर्फबाट लालबाबु यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। किन छुट्टै प्रस्ताव लानुभयो भन्ने प्रश्नको जवाफ दिँदै फोरमका प्रमुख सचेतक शिवजी यादवले सेतोपाटीसँग भने, ‘सीमांकनको विषयमा कांग्रेससँग कुरा मिलेन त्यसैले हामी छुट्टै प्रस्ताव लान बाध्य भयौं।’ यसरी सत्तारुढ घटक बीचमै परिमार्जनसहितको संशोधन प्रस्ताव लैजानेमा मतभिन्नता देखिएपछि भोलि नै मतदानमा जानेमा आशंका बढेको हो।

५० भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएको कारण ती प्रस्ताव सदनमा पेश गर्न र छलफल गर्न समय पुग्छ वा पुग्दैन भन्ने एकिन छैन। संशोधन पारित हुने अवस्था आएमा एमालेले प्रक्रिया लम्ब्याउने र मतदान प्रक्रियामा अबरोध पुर्‍याउन सक्नेबारे बालुवाटारमा सत्तारुढ दलका नेताबीच छलफल भएको थियो।

एमालेले मात्रै धेरै वटा संशोधन प्रस्ताव दर्ता गराएको छ। यसले प्रक्रियालाई लम्ब्याउने छ। यति धेरै प्रस्ताव आएकोले यी सबै प्रस्तावलाई सोझै सदनबाट पारित नगरी संविधान बमोजिम समिति गठन गरेर टुंगो लगाउन माग गर्नसक्ने छ। ‘सत्तारूढ दलले समिति गठन गर्न अस्वीकार गरेमा त्यसैलाई बहाना बनाएर एमालेले मतदान प्रक्रिया रोक्न सक्छ,’ सत्तारुढ दलका एक नेताले सेतोपाटीसँग भने, ‘एमालेले प्रस्ताव फेल हुने अवस्थामा मात्रै प्रक्रिया अघि बढाउन सहमत हुने सम्भावना छ।’
अर्कोतिर प्रस्ताव फेल हुने अवस्था आयो भने सत्तापक्षले पनि तत्काल मतदान प्रक्रियामा लैजाने सम्भावना नरहेको सत्तारुढ दलकै एक नेताले बताए।

  • संशोधनमाथिको संशोधन
  • सत्तापक्षीय गठबन्धन –१
  • विपक्षी गठबन्धन– १
  • फोरम लोकतान्त्रिकसहितको गठबन्धन –१
  • संघीय समाजवादी फोरम नेपाल – १
    एमालेका सांसदहरू – २९
  • माले– १
  • नेमकिपा– १
  • जनमोर्चा– १
  • अन्य साना दल – १५
  • कुल संशोधन : ५१

यसैबीच सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमति जुटाउन अनौपचारिक छलफल गरिरहेकी छिन् । दर्ता भएका संशोधन धेरै भएकाले छलफलको समय लम्बिने सम्भावना पनि छ । प्रत्येक संशोधनमाथि दफावार छलफलपछि सरकारका तर्फबाट कानुनमन्त्रीले एकमुष्ठ जवाफ दिनुपर्ने हुन्छ। त्यसपछि मात्र विधेयकमा मतदानको प्रक्रिया अगाडि बढ्नेछ ।
आज दुई वटा बैठक बस्ने

आज बोलाइएको पहिलो बैठकमा २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट सांसद रहेका नथुली सिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरिनेछ। शोक प्रस्ताप पारित भइसकेपछि अर्को बैठक बस्ने सचिवालयले जनाएको छ।
यस्तो छ अङ्कगणित

संशोधन विधेयक निणयार्थ पेश गर्ने तयारी भइरहँदा संसद्को अङ्कगणित समेत चर्चामा छ । हालको अङ्कगणित अनुसार विधेयक संसद्बाट पारित गराउने सरकारसामु कठिन चुनौती छ। हाल संसद्मा ५९३ सदस्य कायम छन्। कायम सङ्ख्या अनुसार सरकारलाई विधेयक पारित गराउन संवैधानिक प्रावधान अनुसार ३९६ सांसद् आवश्यक पर्छन्।

प्रतिपक्ष गठबन्धनमा रहेका ९ दलमध्ये परिवार दलसहितका दुई दल अनिर्णित छन्। ती दलको साथ पाएमा सरकार प्राविधिक रूपमा ३९६ सङ्ख्या जुटाउन सक्छ। तर, एकमात्र अनुपस्थितिले पनि विधेयक फेल हुन सक्छ।
प्रतिपक्ष गठबन्धनमा एमालेसँग १८१ सदस्य छन् । यस्तै, नेकपा मालेका ५, नेपाल मजदुर किसान पार्टीका ४, राष्ट्रिय जनमोर्चाका ३, बहुजन शक्ति पार्टी १, मधेश समता पार्टी १ र बौद्धिक जनपरिषद्को १ सिट प्रतिपक्षी गठबन्धनसँग छ । प्रतिपक्षीसँग कुल १९६ सांसद् छन्। प्रतिपक्ष गठबन्धनमा आबद्ध रहेको परिवार दल अनिर्णित छ । परिवार दलले संशोधनको पक्षमा सहयोग गरे पनि एक सांसद् अझै निर्णायक हुने अवस्था छ ।

हाल कायम सङ्ख्या अनुसार गठबन्धनको १९६ सङ्ख्याबाहेक सबैले संविधान संशोधनको पक्षमा उभिए ३९७ सङ्ख्या हुन्छ। तर, ३९७ मध्ये सभामुख र निलम्बनमा रहेका सद्भावनाका सांसद् सञ्जय साहको मताधिकार रहने छैन। यसरी दुई जनाको मताधिकार नहुँदा सरकारलाई विधेयक पारितका लागि एक सांसद् आवश्यक पर्छ। सरकारले प्रतिपक्ष गठबन्धसँगको १९६ मध्ये एक सांसद् आफ्नो पक्षमा पार्न सकेमा प्राविधिक रूपमा प्रस्ताव पारित हुन सक्छ।