बुटवल–राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको शिलान्यास गरेकी छन् ।


ADVERTISEMENT


२५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन् ।


ADVERTISEMENT

# # #


यसअघि हिजो नै प्रधानमन्त्री ओलीबाट सभाहलको शिलान्यास गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री लुम्बिनी विश्व विद्यालयको दीक्षान्त समारोहलगायत कार्यक्रममा व्यस्त हुने भएपछि राष्ट्रपतिले यसको शिलान्यास गरेकी हुन् ।

२ वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावा–हुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए । प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो ।

करिब ४० करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ ।

सभाहलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ । हललाई आवश्यकता अनुसार सानो–ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराई बताउँछन् । सभाहल निर्माणको जिम्मा अनक–अर्घाखाँची–बाबुल जेभीले पाएको छ ।

लुम्बिनी विकास कोषले तीन हजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने बनाइसकेको छ । तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभाहलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको छ ।

सभाहलको शिलान्यास गरेपछि राष्ट्रपतिले बुद्धजयन्ती मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । भिक्षु–भिक्षुणीहरुले १२ बजे अगावै खाना खाइसक्नुपर्ने भएकाले बुद्ध जयन्ती मूल समरोह साढे ११ बजे समापन हुने लुम्बिनी विकास कोषले जनाएको छ ।