काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धको दुई हजार ५६२ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकाना व्यक्त गरेकी छिन् ।


ADVERTISEMENT


आजको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरेकी छिन् ।


ADVERTISEMENT

# # #


बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनाका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उनले उल्लेख गरेकी छिन् ।

सन्देशमा आजको पवित्र दिनमा एकापसमा सद्भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिएको छ । राष्ट्रपति भण्डारीले उभौली पर्वका अवसरमा पनि सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्वी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

शुभकामना सन्देश दिँदै उनले नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलामिलापको वातावरण सिर्जना गर्ने उल्लेख गरेकी छिन् ।

उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती तथा किराँत समुदायको प्रमुख चाड उभौली पर्वका अवसरमा देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वभरका बुद्ध धर्मावलम्वी तथा किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाउनुभएको सद्मार्गसबैका लागि अनुकरणीय र मननीय रहिआएको बताउँदै विश्वभरका मानिसहरू भौतिक र आत्मिक सुखशान्तिको खोजीमा रहेको वर्तमान सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व झनै बढेर गएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री – शुभकामना सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

२५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका हुन् ।

‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’’ शुभकामना सन्देशमा भनिएको छ । सन्देशमा गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उनीप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक हुन् प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

सभामुखको शुभकामना
बुद्धजयन्तीमा सभामुख कृष्णबहादुर महराले पनि शुभकामना सन्देश दिएका छन् । ‘समस्त नेपाली तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरुको गौरवपूर्ण दिन २५६२ औं बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु र विश्वभरका बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

महराले भनेका छन्, ‘शान्तिका अग्रदूत, बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धले देखाउनुभएको सत्मार्ग, सदाचार र त्यागको बाटो अहिले पनि हामी सबैका लागि उत्तिकै अनुकरणीय रहेको छ । २५६२ वर्षअघि लुम्बिनीमा जन्मिएर विश्वलाई नै देखाउनुभएको सत्य, न्याय, मेलमिलाप र अहिंसाको दर्शनले आज हामीलाई नेपाली हुनुको गौरव झनै उँचो बनाइदिएको छ । दिगो शान्ति र समृद्धिको खोजीमा संसारभरका मानिसहरु भौतारिरहेको अहिलेको सन्दर्भमा बौद्ध दर्शन र गौतम बुद्धका उपदेश–वचनहरुको महत्व झनै बढेर गएको छ । ’

उनले सन्देशमा थपेका छन्, ‘अहिलेको अवस्थामा बौद्ध दर्शन र बुद्धका विचारहरुलाई आत्मसाथ गर्न सके हामी सबैमा सहिष्णुता, सद्भाव र भावनात्मक एकता बढेर जानेछ । हाम्रो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न बौद्ध दर्शन हामी सबैका लागि प्रेरणादायी बन्नेछ ।’

कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति होः देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गरेका छन् ।
उनले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देशमार्फत बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाऊन् भन्ने कामना गरेका छन् ।

सभापति देउवाले सन्देशमार्फत विगतका वर्ष अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानवनधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको बताउँदै भनेका छन्,“शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसरहरू रहेका छन् । हिंसा, हत्या, अपहरणजस्ता मानवअधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।”

नेपालको संविधानबमोजिम सबै प्रकारका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन हुनाका साथै संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै शुभकामना सन्देशमा भनिएको छ, “यो ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास र शान्ति नै हो । दिगो शान्तिविना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली काँग्रेसको स्पष्ट धारणा रहेको छ ।”

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैलाई मन, वचन र कर्मले पालन गर्न तथा अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गरेका छन् ।