काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने बताएका छन् । इम्यानुएलसँग ह्वाइट हाउसमा गरिएको कुराकानीपश्चात्, ट्रम्पले म्याक्रोंसँगको वार्तापछि केही ठूलो, सम्भवतः सम्झौता हुन सक्ने बताए ।


ADVERTISEMENT


म्याक्रोंले नयाँ सम्झौताले इरानको बलिस्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने बताए। इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका बाहिरिए त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।


ADVERTISEMENT

# # #


सन् २०१५ मा इरानले आफूविरूद्धका प्रतिबन्धहरू खुकुलो पारिने बदलामा आफ्ना पारमाणविक कार्यक्रम स्थगित गर्ने सहमति जनाएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा इरान र विश्व शक्ति राष्ट्रहरूबीच मे १२ सम्म लागू रहने गरी भएको सम्झौताको म्याद नथप्ने विषयमा सहमति नजानाउने ट्रम्पले चेतावनी दिँदै आएका छन् । ट्रम्पले पहिलादेखि नै यो सम्झौतालाई सबैभन्दा खराब सम्झौतामध्येको एक बताउने गरेका छन् ।

तर म्याक्रोंले उक्त सम्झौताप्रति प्रतिबद्ध रहन ट्रम्पलाई मनाउने प्रयास गरिरहेका छन् । उनले उक्त सम्झौताभन्दा अरू कुनै राम्रो विकल्प नभएको तर्क गर्दै आएका छन् । इरानसँगको सम्झौता विफल नतुल्याउन ट्रम्पलाई मनाउने प्रयासमा जर्मन चान्सलर एंगेला मर्केलले शुक्रवार अमेरिकाको भ्रमण गर्दैछिन् ।

एक पत्रकारले सम्झौता तोडेपछि के इरानले आफ्नो पारमाणविक कार्यक्रम पुनः सुचारु गर्ला त भन्ने प्रश्नमा ट्रम्पले भने, ‘पुनः सुरु गर्न उनीहरुका लागि सजिलो छैन ।’ ‘उनीहरुले यस्तो केही गर्न सक्दैनन् । यदि यस्तो गरिहाले पनि उनीहरुले अत्यधिक समस्याको सामना गर्नुपर्छ । यस्तो समस्या जुन उनीहरुले पहिला कहिले देखेका थिएनन् होला ।’

इरानी विदेशमन्त्री जवाद जारिफले उक्त सम्झौताबाट अमेरिका बाहिरिए तेहरानले पनि त्यसलाई त्याग्ने सम्भावना रहेको बताएका छन् । यसअघि सोमवार इरानी राष्ट्रपति हसन रूहानीले पारमाणविक सम्झौताबाट अमेरिका अलग भए त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका थिए ।

यस्तै, ट्रम्पले मंगलबार भने, ‘यदि इरानले हामीलाई धम्की दिन्छ भने उसले पनि त्यति नतिजा भोग्नु पर्नेछ जुन अन्य देशले भोगिरहेका छन् ।’ इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त शान्तिपूर्ण र गैरसैनिक प्रयोजनका लागि भएको बताउँदै आएको छ ।