काठमाडौं – नेपाल विद्यार्थी संघका ५ जना उपाध्यक्षहरुले आगामी महाधिवेशनको मिति तोक्न माग गरेका छन् ।


ADVERTISEMENT


सोमबार बिहान माउ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले नेसवसंघका अध्यक्ष नैनसिँह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नु पर्ने पनि माग गरेका छन् । अध्यक्ष महरले गरेका असंवैधानिक निर्णयहरु खारेज गरेर सहमतिका आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाएर विधिवत अधिवेशन गरिनु पर्ने पनि उनीहरुको माग छ ।

उपाध्यक्षहरु प्रकाश राना, खडकबहादुर डाँगी, उर्मिला थपलिया, नविन राई र सागर परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा गत कार्तिक २८ गते प्रेस विज्ञप्ती मार्फत र पुष ९ गते सभापति देउवा समक्ष बुझाइएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।

सभापति देउवालाई ज्ञापन पत्र बुझाउने पाँचै जना उपाध्यक्षहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी पार्टी सभापतिले लिनु पर्ने चेतावनी समेत दिएका छन् । यसैबीच महाधिवेशनको माग गर्दै मध्यान्ह १२ वजे पार्टी कार्यालय सानेपा पुगेर छुट्टै ज्ञापन पत्र बुझाइने केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिएका छन् ।