नयाँदिल्ली — चैत तेस्रो साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सबैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए ।


ADVERTISEMENT


तर, महिना दिन नबित्दै उक्त भनाइविपरीतका कूटनीतिक व्यवहार देखिएको छ । विशेषगरी भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय गर्ने सवालमा । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले मे दोस्रो साता प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने सन्देश पठाइसकेको छ ।


ADVERTISEMENT

# # #


भारतको पछिल्लो प्रस्तावले काठमाडौंलाई अप्ठ्यारोमा पारेको देखिन्छ । नेपालका प्रधानमन्त्रीहरूले पहिलो विदेश भ्रमण भारतकै गर्ने परम्परालाई निरन्तरता दिएका ओली त्यसपछि उत्तरी छिमेक चीनको भ्रमणमा जाने तयारी सुरु भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साताव्यापी चीन भ्रमण त्यही उद्देश्यमा केन्द्रित थियो । तर, ज्ञवाली काठमाडौं ओर्लंदा–नओर्लंदै दिल्लीले मोदीको नेपाल भ्रमणको मितिसहितको सन्देश पठाइसकेको छ । नयाँदिल्लीको मिति किटानीले नेपाली पक्षलाई अप्ठ्यारोमा पारेको अधिकारीहरूको भनाइ छ ।

‘हामीसँग सल्लाहै नगरी एकपक्षीय ढंगले मिति तोकिएको छ,’ काठमाडौंस्थित एक उच्च अधिकारीले कान्तिपुरसँग भने । मोदीको भ्रमण मिति तोक्दा नयाँदिल्लीले फेरि एकपटक आफ्नो अनुकूलतामात्र हेर्न खोजेको देखिन्छ । भारतको दक्षिणी राज्य कर्नाटकमा १२ मेमा विधानसभा चुनाव हुँदै छ, जसलाई मोदीको पार्टी सत्ताधारी भाजपा र विपक्षीहरूले पनि प्रतिष्ठाको लडाइँका रूपमा लिएका छन् । तमिलनाडु, केरलालगायत राज्यबाट विस्तारै फैलँदै गएको मोदी सरकारविरुद्धको जनमतलाई कर्नाटकबाटै रोक्न भाजपाले पूरै शक्ति लगाएको छ । भाजपा अध्यक्ष अमित शाह अड्डा नै जमाएर बसेका छन् त्यहाँ ।

हाल युरोप भ्रमणमा रहेका मोदी पनि स्वदेश फर्कनासाथ कर्नाटक लाग्नेछन् । कंग्रेस आईलगायत विपक्षी दलले पनि कर्नाटकबाटै मोदी सरकारविरुद्ध माहोल तताउने रणनीति बुनेका छन् । आगामी वर्ष हुने संघीय संसद्को चुनावका लागि कर्नाटकको चुनावले निर्णायक भूमिका खेल्ने सत्ताधारी र विपक्षी दुवैको बुझाइ छ । आफ्नो दोस्रो कार्यकालका लागि निर्णायक मानिएको चुनावलाई मोदीले पनि गम्भीर रूपमा लिएको देखिन्छ । त्यसैले चुनाव प्रचार गर्ने अन्तिम दिनसम्म पनि मोदी कर्नाटकमै रहनेछन् ।

चुनावको ४८ घण्टाअघिदेखि निषेधाज्ञा लागेपछि उनी दिल्ली फर्कने र लगत्तै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ । प्रधानमन्त्रीको चुनावी कार्यक्रम अनुकूल हुने गरी नै दिल्लीले नेपाल भ्रमणको मिति तोकेको सहजै बुझ्न सकिन्छ । आजको कान्तिपुरमा खबर छ ।