नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीसंग हिमालय पोष्टले गरेको विशेष कुराकानी : –


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अब दिनचर्या त जनताको काम गर्दै बितेको छ । अहिले आफ्नै पार्टीको सरकार भएकाले मन्त्रीहरुसंग भेटघाट गरेर जनताको कामहरु गरिरहेकी छु ।


ADVERTISEMENT

# # #


अहिले वाम गठबन्धनको सरकार बनेको छ । तपाई सत्तारुढ दल एमालेको एक जिम्मेवार नेता हुनुहुन्छ । विकास र समृद्धिलाई मूल एजेण्डा बनाइरहँदा सरकारले आफ्नो गतीलाई कसरी अगाडि बढाइरहेको छ ?

मलाई लाग्छ सरकारका मन्त्रीहरु आफ्नो हिसाबले काम गर्दै हुनुहुन्छ । कुन परिधिभित्र रहेर काम गर्ने ? कस्ता नियम, नियमावली ल्याउने भन्ने कुराहरुको काम पनि भइरहेको छ । जनताको काम द्रुत रुपमा गर्दै सातैवटा प्रदेशमा प्राथमिकताका आधारमा योजनाहरु अध्ययन गर्दै त्यही अनुसार काम भइरहेको छ जस्तो लाग्छ ।

राजनतिक मुद्दाहरु एक किसिमले अब टुंगोमा पुगेका छन् । विकास र समृद्धि भनिरहँदा सरकारको गतिविधिलाई कसरी नियाल्नु भएको छ ?

अब अन्य बाहानाको त कुरै आउँदैन । जहाँसम्म मधेशवादी दलहरुले राख्दै आएको संविधान संशोधनको माग त्यस बेलादेखि राख्दै आउनु भएको हो । यही आशामा उहाँहरुले प्रधानमन्त्रीदेखि राष्ट्रपतिको चुनावमा साथ दिनुभएको छ । उहाँहरुलाई सरकारमा सामेल गराउन सरकार पनि लागि रहेको छ । संविधान संशोधनको कुरामा देश र जनतालाई असहज नहुनेगरी संशोधन गर्न सकिन्छ । भर्खरै प्रधानमन्त्रीले भारत भ्रमण सक्नुभएको छ । मलाई लाग्छ यो भ्रमणले नेपाल भारतको सम्बन्धलाई अझ सुमधुर बनाउने छ ।

यही बीचमा दुई देशबीच सम्बन्ध सन्तुलित बनाएर फाइदा लिने चुनौति पनि होला । फेरि वाम गठबन्धनलाई उत्तरतर्फ बढी ढल्किएको भन्ने गरिन्थ्यो । तर अहिले प्रधानमन्त्रीले भारतबाट औपचारिक भ्रमणको सुरुवात गर्नु भएको छ । यसले के सन्देश दिन्छ ?

कम्युनिष्ट चीनतर्फ मिल्ने भएकोले त्यसको असर हामीलाई पर्छ कि भनेर भारतीय पक्षले शंकास्पद दृष्टिकोणले हेरेको पनि हुनसक्छ । तर प्रधानमन्त्रीको यो भ्रमणले प्रष्ट पारिसकेको छ कि हामी दुबै देशसंग सन्तुलित सम्बन्ध स्थापित गर्न चाहान्छौँ भनेर । एउटा छिमेकीको सहायतामा अर्कोसंग हामी लड्दैनौँ र त्यो क्षमता हामीसंग छैन पनि । हामीलाई दुबै छिमेकी उत्तिकै महत्वपूर्ण छन् । धेरै वर्षपछि हामी राजनीतिक स्थायित्वतर्फ गएका छौँ । नेपालको हितका लागि अब दुबै छिमेकीले साथ र सहयोग गर्नुपर्छ ।

अर्को कुरा प्रधानमन्त्री ओलीले विभिन्न किसिमका सपनाहरु देखाउनुभएको छ । विकास र समृद्धिको लागि जनतालाई अति महत्वाकांक्षी योजनाहरु सुनाइएको छ । यी कुराहरुलाई पूरा गर्नका लागि सरकारले काम पनि गर्ने हो कि यस्तै भाषणमात्रै सुनिरहनु पर्ने हो ?

हेर्नुस्, भाषण भनेको एक खालको भिजन हो । एउटा भिजन नै नभएर त कुनै पनि कुराको बाटो तय हुनसक्दैन । त्यस कारण भाषणसंगै काम पनि गर्नुहुन्छ जस्तो लाग्छ । हामी अहिले अविकशित मुलुकको सूचिमा छौँ । त्यो सूचिबाट माथि आउनका लागि त्यही किसिमको सपना पनि आवश्यक हुन्छ । भाषण भनेकै एउटा कार्यनीति हो । नेपालजस्तो देशले रेल चलाउनै सक्दैन भन्ने त कहीँ पनि लेखेको छैन नि ? मलाई लाग्छ पाँच वर्षको यो सरकारको अवधीमा थुप्रै कामहरु पनि हुन्छन् । त्यसका लागि पहिले कानुनहरु बनाउनु पर्छ । त्यही कानुन अनुसार विकासका कामहरु अघि बढ्दै जान्छन् । यो पाँच वर्षमा पूरा हुन नसकेपनि अर्को पाँच वर्षमा प्रधनमन्त्रीले बोल्नु भएका सपनाहरु सपना भइराख्दैनन् । अर्को कुरा हामीले राजनीतिक स्थायित्व दिन सक्यौँ भने, उसको लगानीको सुरक्षाको ग्यारेन्टी दिन सक्यो भने वैदेशिक लगानी प्रशस्तै आउँछ । जसले हाम्रा सपनाहरु पूरा गर्न टेवा पुर्याउँछ ।

अर्को कुरा अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रमा सरकारी ढुकुटी सबै रित्तो छ, तलब खुवाउने र मन्त्री दिने गाडीसम्म छैन भनिएको छ । यसमा तपाई के भन्नुहुन्छ ?

स्वेतपत्र यत्तिकै पनि निकाल्न मिल्दैन । एउटा अर्थमन्त्रीका हिसाबले उहाँले देशको अर्थतन्त्रको स्थिति देखाउनु भएको हो । जुन स्वेत पत्र जारी भएको छ । त्यसमा देखेको कुरा मात्रै बोलेको हो । देशको अर्थतन्त्र राजश्वबाट नै चलेको हुन्छ । केही भएन भने वैदेशिक ऋण लिने परम्परा रहेको छ । मुलुक संघियतामा गइसकेपछि त्यस अनुसारको बजेट चाहिन्छ । प्रत्येक प्रदेशलाई छुटाछुट्टै बजेट दिनुपर्छ । त्यस कारण उहाँले सत्यतथ्य विश्लेषण गर्नुभएको जस्तो मलाई लाग्छ ।

अहिले सरकारमा तपाईको पार्टी छ । निर्वाचनमा तपाईहरुले देखाउनु भएको विकास र ससमृद्धिको सपना पूरा गर्ने आधारहरु के-के हुन् ?

यो एकदमै महत्वपूर्ण विषय हो । मुलुक राजनीतिक स्थायित्वतर्फ गएकाले अब विकास र समृद्धिबाहेक हाम्रो एजेण्डा नै छैन । नेपाल एक कृषिप्रधान देश हो । त्यसकारण सर्वप्रथम हाम्रो उत्पादनमा उल्लेख्य वृद्धि गर्नु आवश्यक छ । तीनै तहका सरकारले यो कुरामा ध्यान दिनुपर्छ । अर्को पर्यटनमा त्यत्तिकै सम्भावना छ । त्यसलाई विश्वमा परिचित गरेर वर्षमा कम्तीमा १ करोड पर्यटक नेपाल भित्र्याउन सकियो भने नेपालको समृद्धिको आधार नै त्यही हुन्छ । हाम्रो छिमेकी देशको जनसंख्या अर्बौँ छ । त्यसको केही प्रतिशत मात्रै भएपनि नेपाल भित्र्याउन सक्यौँ भने त्यो एक करोड संख्या सजिलै पुग्छ । त्यसका लागि सरकार लाग्नुपर्छ । अर्को भनेको नेपालको प्राकृतिक स्रोत साधानको भरपुर प्रयोग गर्नु हो । जस्तै हामीसंग ८३ हजार मेघावाट क्षमताको जल स्रोत छ । त्यसको उपयोग हुनुपर्छ । हामसंग रहेका खनीज पदार्थहरुको पहिचान गर्दै उत्खनन् गरिनुपर्छ । विश्वका ठूला कम्पनीपनि नेपालमा लगानी गर्न तयार छन् । त्यसका लागि सरकारले काम थाल्नुपर्छ । जसले हाम्रो युवा पलायन रोक्नुका साथै समृद्धिको सपना पनि पूरा गर्नसक्छ ।

अब तपाईको पाटीतर्फ पनि फर्किऔँ । पार्टी एकताको कुरा कहाँ पुग्यो ? फेरि पार्टी नेतृत्व र पार्टीको सैद्धान्तिक कुरा पनि छ ।

बाहिर कुरो आएअनुसार त बैशाख ९ गते एकता हुने भन्ने छ । दुईवटै पार्टीले आ-आफ्नो खाकाहरु प्रस्तुत गर्नुभएको छ । पार्टी एकता संयोजन समितिको बैठक पश्चात यसको निक्र्योल हुन्छ । जहाँसम्म सिद्धान्तको कुरा छ । त्यो त कम्युनिष्ट सिद्धान्त नै हुन्छ । यस्तै नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने निर्णय यस अघि नै भइसकेको छ । जनताको बहुदलीय जनवाद हामीले बोक्थ्यौँ भने माओवाद माओवादीले अंगिकार गरेको सिद्धान्त हो । यिनलाई मिलाएर जाने भन्ने कुरा भइरहेको मैँले पाएको छु । नेतृत्वको कुरा त अहिले दुबै जनाले सह–अध्यक्षको रुपमा जाने भन्ने कुरा छ । ठूलो पार्टी भयो भने राजनीतिक स्थायित्व हुन्छ । विकासका कुराहरु योजना अनुसार हुँदै जान्छन् । मलाई लाग्छ पार्टी एकताले नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्छ । त्यस कारण पार्टी एकता हुन जरुरी छ ।

त्यसका लागि एकतासंगै नेताहरुको व्यवस्थापन गर्न त सहज छैन होला नि ?

सहज त भइनै हाल्छ । नेता भनेको पनि जीवित प्राणी नै हो नि । सबैले न केही कुरामा सम्झौता गर्नैपर्छ । नत्र भने एकता कसरी हुनसक्छ ? देश र जनताको लागि उचित हुने कुराहरु नेताहरुले मिलाउनु पर्छ ।

तपाई आफैपनि एमालेमा एउटा सशक्त महिला नेतृ हुनुहुन्छ । पार्टीलाई विभिन्न किसिमका योगदान दिनुभएको छ । पार्टी एकतापछि आफ्नो स्थान कता देख्नुहुन्छ ?

सर्वप्रथम त पार्टी एकता नै ठूलो कुरा हो । संस्थाका अगाडि एउटा व्यक्ति गौण कुरा हो । यसमा केन्द्रिय कमिटीमा सायद सबैलाई समेट्न नसकिएला । तर पनि पार्टीले सबैलाई व्यवस्थापन गर्नुपर्छ । भागबण्डाका कुरामा बराबरी नगर्ने कुरा भइरहेको छ । अब यसमा को-कहाँ रहने भन्ने कुरा पछि थाहा भइहाल्छ । मैँले पार्टीका लागि पूरा समय दिएको छु । महिलाको क्षेत्रमा, केही नभए सामाजिक क्षेत्रमा आफूले सकेको गर्दै आएको छु । यसकारण पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ जस्तो लाग्छ । पार्टीले दिएको जिम्मेवारी र्मैँले सहज रुपमा स्वीकार गर्नुपर्छ ।

सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उठ्नु भएको थियो । तर पराजय भोग्नु भयो । अबका दिनमा आफ्नो निर्वाचन क्षेत्रमा के-कसरी काम गर्दैहुनुन्छ ?

मेरो निवाचन क्षेत्रमा जनताको घरदैलोमा गएकाले प्रत्येकको भावनासंग म जोडिएको छु । उनीहरुको आशा र अपेक्षा के हो भन्ने कुराहरु मलाई थाहा भएको हुनाले आफू नजितेपनि पार्टी सरकारमा भएकाले जतिसक्दो काम गर्न लागि परेकी छु । निर्वाचनमा मैँले बोलेका कुराहरु पूरा नभएपनि केही हदसम्म सम्पन्न गर्नका लागि म काम गरिरहेकी छु ।

अन्त्यमा, तपाईले निर्वाचनमा धाँधली भयो भनेर कांग्रेस सांसद विजय गच्छदारविरुद्ध मुद्दा हाल्नु भएको थियो । त्यो कहाँ पुग्यो ?

अब हेर्नुस्, नेपालमा अझै पनि पूर्णरुपमा विधिको शासन लागू भएको छैन । तरल अवस्थाबाट संविधान बन्यो । निर्वाचन सम्पन्न भएको छ । अब संविधानको कार्यान्वयन हुँदैछ । न्यायालयले साँच्चिकै न्याय गर्छ भने मैँले न्याय पाउनै पर्छ । मतदान र मतगणनाको बेला जसरी धाँधली गरिएको छ । यसले सरकारकी कर्मचारी पनि मिलेको देखियो । यो गलत भएकै हो । जनताले पनि मलाई साथ दिइरहनु भएको छ । म न्याय पाउने कुरामा आशावादी छु ।