चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए ।


ADVERTISEMENT


अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताए ।
बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उनले बताए । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनले प्रष्ट्याए ।


ADVERTISEMENT

# # #


घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताए । सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए ।
विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।

यसअघि आजै माडीमा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले निकुञ्ज ऐन, २०२९ संशोधनको पहल थाल्ने बताए । सो क्षेत्रका निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको बताए ।

उनले निकुञ्ज जनता बरदान हुने गरी ऐन संशोधन गर्न जोड दिए । उनले भने, “ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुन्छु ।” माडीको समृद्धि गर्न सके देशको समृद्धि हुने भन्दै उनले गाउँगाउँबाट विकास निर्माणका काम थाल्नुपर्ने बताए ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा (एमाले) नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले त्यस क्षेत्रका समस्याका बारेमा दाहाललाई अवगत गराए ।