जयपुर–नेपाल युवा स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली डेयर डेभिल्स इन्डियन प्रिमियर लिग(आइपीएल) मा लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार राती वर्षाले प्रभावित खेलमा डकवर्थ लुइसको आधारमा राजस्थान रोयल्सले दिल्लीलाई १० रनले पराजित गरेको हो ।


ADVERTISEMENT


राजस्थानको राजधानी जयपुरको एमएमएस स्टेडियममा भएको खेलमा राजस्थानले पहिलो ब्याटिङ गर्दा १७.५ ओभरमा खेल रोकिएको थियो । त्यसपछि दिल्लीले ६ ओभरमा ७१ को नयाँ लक्ष्य पाएको थियो । तर, दिल्लीका ब्याटसम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।


ADVERTISEMENT

# # #


विस्फोटक ब्याटसम्यान कोलिन मुनरो रन आउट भएपछि ग्लेन म्याक्सवेल र ऋषभ पन्तले दिल्लीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, राजस्थानले कसिलो बलिङ गर्दै दिल्लीलाई हारको स्वाद चखायो । राजस्थानका लागि लाफ्लिनले २ तथा उनादकटले १ विकेट लिए ।

तर, खेलको टर्निङ प्वाइन्ट भने धवल कुलकर्णीको ओभर साबित भयो जहाँ उनले एक ओभरमा मात्र ४ रन खर्चिएका थिए । लक्ष्य पछ्याउने क्रममा दिल्लीको पहिलो ओभर खासै राम्रो हुन सकने । म्याक्सवेल र मुनरो ओपनरका रुपमा आएका थिए । तर, तालमेलको कमीका कारण मुनरो रन आउट हुनपुगे ।

त्यसपछि, पन्तले माक्सवेलसँग मिलेर इनिङ सम्हाल्न धेरै कोशिस गरे । तर, म्याक्सवेल आउट भएपछि उनी पनि आउट हुन पुगे । पन्तले १४ बलमा २० रन बनाए भने म्याक्सवेलले १२ बलमा १७ बनाए । यसअघि, राजस्थानले १७.५ ओभरमा ५ विकेटको क्षतिमा १५३ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।

राजस्थानका लागि ओपनर अजिंका रहानेले ४५ रन तथा सञ्जु स्यामसनले २९ रनको योगदान दिए । दिल्लीका लागि शहबाज नदीमले २ तथा ट्रेन्ट बोल्ट र मोहमद शामीले १–१ विकेट लिए ।

दिल्ली र राजस्थानबीच आइपीएलमा भएका १७ खेलमा राजस्थानले ११ खेल जितेको छ भने दिल्लीले मात्र ६ खेलमा जित हासिल गरेको छ । राजस्थानविरुद्ध दिल्लीको यो लगातार सातौँ हार हो । यसअघि दिल्लीले पछिल्लोपटक सन् २०१२ मा राजस्थानलाई हराएको थियो ।

यता, सन्दीपले अझै पनि शुरुवाती ११ मा स्थान बनाउन सकेका छैनन् ।