भारतमा एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको खुलासा भएको छ । कोलकाताका शुभव्रता मजुमदारले आमाको शवलाई फ्रिजभित्र राखेका हुन् । उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । आमाको शव सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए ।


ADVERTISEMENT


मृत्यु भएकी आमाको पेन्सन खान उनले सो जुक्ति अपनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत शरीर फ्रिजभित्र राखे आमाको पुनर्जन्म हुने विश्वासमा शव लुकाएर राखेको उनले जिकिर गरेका छन् । एक अज्ञात व्यक्तिले सूचना दिएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो ।


ADVERTISEMENT

# # #


‘शुभव्रताको घर पुग्दा महिलाको शव ठूलो फ्रिजभित्र राखेको पायौँ । शवलाई कुहिनबाट जोगाउन केही रसायन प्रयोग गरिएको रहेको छ,’ प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शरीरबाट खसेका केही अंगलाई ती व्यक्तिले जारमा फ्रिजभित्र राखेको प्रहरीको भनाइ छ ।

आरोपित व्यक्ति छाला प्राविधिक भएकाले शव जोगाउन प्रयोग हुने विभिन्न रसायनबारे राम्रो ज्ञान भएको अनुसन्धानका क्रममा खुलेको छ । समाचारअनुसार शुभव्रताकी आमाको मृत्यु २०१५ को अप्रिलमा भएको थियो । मृत्युपछि उनले आइसक्रिम राख्ने ठूलो फ्रिजमा आमाको शव राखेका थिए ।

‘शुभव्रताका दुवै अभिभावक सेवानिवृत्त थिए र मासिक ५० हजार पेन्सन पाउँथे । तर, आमाको मृत्युपछि पनि पेन्सन पाउन उनले शव फ्रिजभित्र राखेका रहेछन्,’ एक प्रहरी अधिकारीले भने । उनले हरेक महिना मृत आमाको औँठाको छाप लगाएर पेन्सन लिँदै आएका थिए । ‘मृत्युपछि पनि छोराले मृत आमाको अकाउन्टबाट नियमित रूपमा रकम निकालेको पाइएको छ,’ प्रहरी अधिकारी निलन्जन विश्वासले भने । अकाउन्टबाट रकम झिक्न शंकास्पद व्यक्तिले डेबिट कार्ड प्रयोग गरेको पनि प्रहरी अधिकारीले जनाएका छन् ।

एक सरकारी संस्थानबाट रिटायर्ड भएकी उनकी आमाले पेन्सनबापत हरेक महिना ५० हजार पाउँथिन् । यसैबीच, आरोपित व्यक्तिका बाबु पनि अनुसन्धानको दायरामा तानिएका छन् ।