काठमाडौं–सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ । महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।


ADVERTISEMENT


बैठकले कार्यविधि तत्काल संशोधन गर्नुपर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए । ‘सरकारले यातायात व्यवसायीलाई बेवास्ता गरेर ल्याएको कार्यविधि नमान्ने निर्णय गरेका छौं,’ उनले भने, ‘परिषद्को बैठकले सरकारले कार्यविधि संशोधन नगरेसम्म चरणबद्धरुपमा आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।’


ADVERTISEMENT

# # #


पहिलो चरणमा राजनीतिक दलसँग सल्लाह गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनले बताए । ‘सरकार कुन रुपमा उत्रिन्छ, सोही अनुसार नै आन्दोलनका कार्यक्रम तय गरिनेछ’, उनले थपे ।

यातायात व्यवस्था विभागले यही चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर सार्वजनिक यातायात चलाउन कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यातायात समिति संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका थिए । अब भने कम्पनी ऐन २०६३ अनुसार दर्ता हुनुपर्ने व्यवस्था भएको छ । अब कुनै व्यक्ति विशेषले सार्वजनिक सवारीसाधन चलाउन रुट इजाजत पाउनेछैन । – आजको नागरिक दैनिकबाट