चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको धारणा राखे ।


ADVERTISEMENT


कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भने , ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।’ सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै कोइरालाले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।’


ADVERTISEMENT

# # #


विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उनले बताए । एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे ।

फरक प्रसंगमा नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताए । उनले भने, ‘नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो ।’ डेढ वर्षअघि नै रेलको सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनले दावी गरे ।

कोइरालाले अर्थमन्त्री डा। युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको आरोप लगाए ।

उनले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत कांग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा कांग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाए ।