काठमाडौं–पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ ।


ADVERTISEMENT


सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए । चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ । उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ । यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेटे हुनेछन् ।


ADVERTISEMENT

# # #


चीनबाट भारत पुग्न दुई सय ३० किलोमिटर रेल यात्रा गर्नु पर्नेछ । यो मुस्किलले एक घन्टाको दूरी हो। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार रक्सौल–काठमाडौं रेलमार्गले जोड्ने सहमति भएको छ । नेपाल–भारतको सिमा क्षेत्र रक्सौलसम्म अहिले भारतीय रेल सञ्चालन भइरहेको छ । रक्सौल–काठमाडौंं रेलमार्ग निर्माणका हिसाबले पनि सहज मानिन्छ । एक सय ३० किलोमिटर मा दूरी रहेको यो मार्गमा विद्युतीय रेल कुद्नेछ । यो रेलको निर्माण भारत सरकारले आफ्नै खर्चमा गर्ने सहमतिमा उल्लेख छ ।

रेल लाइन विस्तार गर्ने सम्बन्धमा दुई देशबीच चार बुँदे सम्झौता भएको छ । सम्झौताको पहिलो बुँदामै भारतको आर्थिक सहयोगमा यो विद्युतीय रेलमार्ग बनाइने उल्लेख छ । रक्सौलबाट काठमाडौं जोड्ने यो रेलमार्गको आगामी एक वर्षभित्रै नेपाल सरकारसँगको परामर्शमा सर्वेक्षण हुनेछ । निर्माण मोडालिटी भने विस्तृत परियोजना प्रतिवेदनका आधारमा गर्ने सहमति भएको छ । त्यसको कार्यान्वयन तथा बजेट तय नेपाल सरकारसँगको समन्वयमा हुने उल्लेख छ ।

नेपाल–भारत सिमा जोड्ने गरी बनाउन थालिएको रेललाइन परियोजनामा पहिलो चरणमा भएको कामको प्रशंसा भएको छ । भारत सरकारकै सहयोगमा निर्माण भइरहको जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण भइरहेको छ । यो रेलमार्ग सन् २०१८ भित्रै सञ्चालनमा आउनेछ। भारतको सहयोगमा बनेको यो मार्गमा सञ्चालनको आवश्यक रेल समेत भारतले दिनेछ ।

जयनगर–जनकपुर–कुर्था र जोगबनीबाट विराटनगरसम्म सन् २०१८ भित्रै कस्टम यार्ड निर्माण गर्ने पनि उल्लेख छ । जयनगर–बिजलपुरा–बर्दिवास र जोगबनी–विराटनगरको सिमा रेलमार्गलाई पनि प्राथमकिताका साथ अगाडि बढाइने उल्लेख छ । यो क्षेत्रमा नेपालले जग्गा अधिग्रहणको काम छिटो टुंग्याउने प्रतिबद्धता जनाएको छ ।

रेलमार्ग सञ्चालन गर्न नेपाल र भारतबीचको संयुक्त कार्यदलको समूहको बैठक नियमित भइरहेकामा दुई प्रधानमन्त्रीले प्रशंसा व्यक्त गरेका छन् । यसमा सिमा रेल मार्ग लाइनबारे आवश्यक मोडालिटी तय गरेर अगाडि बढ्ने उल्लेख छ । – आजको अन्नपूर्ण पोस्टबाट