काठमाडौं – धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) प्रतियागितामा काठमाडौं गोल्डेन्सले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ । आज विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लगातार चौथो जित हात पारेको हो ।


ADVERTISEMENT


धनगढीको एसएसपी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै पारस खड्का कप्तान रहेको विराटनगर किंग्सलाई पराजित गर्न सफल भयो । १६५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।


ADVERTISEMENT

# # #


काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले अविजित ६८ रन बनाए । उनले ४० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६८ रन बनाए ।

त्यस्तै, काठमाडौंका लागि भूपेन्द्र थापाले ३६, सन्नी पटेलले अविजित २५ रन बनाए भने पुष्प थापाले २४ रन बनाए । कुनै बेला हार नजिक पुगेको काठमाडौंलाई कप्तान मल्लले जित दिलाउन सफल भए । उनको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले सीवाईसी अत्तरियाविरुद्ध पनि ५७ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । काठमाडौंको सुरुवाती भने राम्रो हुन सकेन । ७ रन हुँदा पहिलो विकेटको रुपमा अमित श्रेष्ठलाई गुमाएको काठमाडौंले ३३ रन हुँदा सुवोध भाटीलाई गुमाएको थियो ।

विराटनगरका लागि वसन्त रेग्मीले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । विराटनगरका लागि बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उकासेका थिए । बाबरले ३३ बलमा ७ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाए । त्यस्तै, ओपनर दिलिप नाथले ३३, पृथु बास्कोटाले ११, अनिलकुमार शाह र बसन्त रेग्मीले समान १०–१० रन बनाए ।

३८ रन हुँदा विराटनगरले पहिलो विकेटको रुपमा अनिलकुमार शाहलाई गुमाएको थियो । ७० रन हुदा दोस्रो विकेटको रुपमा दिलिप नाथलाई गुमाएको विराटनगरले लगतै ७० रन हुदा नै शुभम कामतलाई गुमाएको थियो ।

काठमाडौंका लागि ललितनारायण राजवंशीले ३ र राशिद खानले २ विकेट लिए । काठमाडौं यसअघि नै प्लेअफमा पुगिसकेको थियो । यता, विराटनगर किंग्स आजको खेलमा जित हात पारेको खण्डमा प्लेअफमा पुग्ने थियो । विराटनगरको प्लेअफ पुग्ने समीकरण भने अन्तिम खेलले टुंगो लाग्ने भएको छ ।