काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्रीका रूपमा दोस्रो पटक भारत भ्रमण गरिरहेका ओलीले यसपालि विकास निर्माणका केही पुराना र केही नयाँ परियोजनाबारे भारतसँग छलफल गर्नेछन् ।


ADVERTISEMENT


शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा हुने द्वीपक्षीय भेटमा प्रधानमन्त्री ओलीले काठमाडौं–वीरगन्ज रेलमार्गको सम्भाव्यता अध्ययनबारे छलफल गर्नेछन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भारतीय बन्दरगाहबाट कोशीलगायत नदीसम्म सामान ओसारपसारको सम्भाव्यता अध्ययन गर्नेबारे पनि ओलीले छलफल गर्नेछन् ।


ADVERTISEMENT

# # #


छलफलको अर्को एजेन्डा थप हवाइ रूट हो । अहिले अन्तर्राष्ट्रिय जहाज भारतीय आकाशबाट नेपाल आउँदा सिमराको रूटमात्र प्रयोग गर्न पाउँछन् । प्रधानमन्त्री ओलीले भारतसँग भैरहवा, महेन्द्रनगरसँगै विराटनगर र जनकपुरमध्ये एक ठाउँबाट हवाइ रूटको थप्न माग गर्नेछन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषय भने छलफलको सूचीमा छैन । दुई प्रधानमन्त्रीबीच नेपालको कृषिको व्यवसायीरणमा भारतीय प्रविधिको प्रयोगका विषयमा पनि छलफल हुनेछ ।

कृषिका बारेमा थप जानकारी लिन प्रधानमन्त्री ओली भारतको सबैभन्दा ठूलो जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालय पुग्नेछन् । विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणका क्रममा पुराना सम्झौताका विषयमा पनि छलफल गर्ने छन् ।

२२ वर्षअघि सम्झौता भएको पञ्चेश्वर परियोजनाको डिपिआर बनाउने एजेन्डमा पनि छलफल हुनेछ ।

पञ्चेश्वरको डिपिआर तीन कुरामा अड्किएको छ। त्यसमध्ये सबैभन्दा पेचिलो विषय पानीको बाँडफाँड हो । भारतले अहिले आफूले प्रयोग गरिरहेको पानीबाहेकको पानी आधा–आधा बाँङ्नु पर्ने सर्त राखेको छ । नेपाली पक्षले भने तल्लो क्षेत्रको पानीलाई परियोजनाले नचिन्ने भएकाले बढि पानी लिने हो भने त्यसको क्षतिपूर्ति दिनुपर्ने अडान राखेको छ । प्रधानमन्त्री ओलीले पनि त्यही अडान दोहोर्‍याउने स्रोतले बतायो ।

बाँकी दुई मुद्दा नदीको जल प्रवाहको विश्लेषण र लगानीको विषयमा भारतले त्यति ठूलो असहमति राखेको छैन । भ्रमणताका प्रधानमन्त्रीले छलफल गर्ने अर्को विषय हुलाकी राजमार्गको निर्माण तीव्रता हो । भारतीय सहयोगमा तराईका २२ जिल्लामा बन्न लागेको यो राजमार्गमा धेरै पहिलादेखि काम सुरू भए पनि काम निकै सुस्त गतिमा भइरहेको छ ।

प्रधानमन्त्रीले छलफल गर्ने अर्को एजेन्डा भारतले बनाउने सहमति भएको गरेको नेपाल प्रहरी एकेडेमी पनि हो । काभ्रेको पनौतीमा एकेडेमी बनाउने भने पनि अहिलेसम्म कुनै काम सुरू भएको छैन ।

सधैँ चर्चामा रहने नेपाल– भारतबीचको सन् १९५० को सन्धिको पुनरावलोकनबारे भने प्रधानमन्त्रीको भ्रमणमा छलफल हुने छैन । दुबै देशका प्रवुद्ध व्यक्तिको समूह (इपिजी) ले यो सन्धिका विषयमा छलफल गरिरहेको छ । इपिजीले आगामी जुलाईमा प्रतिवेदन बुझाउँदैछ । इपिजीले अध्ययन गरिरहेको विषय भएकाले १९५० को सन्धिबारे प्रधानमन्त्रीले छलफल नगर्ने भएका हुन् ।