– डा आभा श्रेष्ठ शाक्य (स्त्री तथा प्रसूती रोग विशेषज्ञ, ग्रान्डी हस्पिटल) 
पछिल्लो समय प्रायः महिलामा सेतो पानी बग्ने समस्या देखिन थालेको छ । सानै उमेरका महिलामा पनि यस्तो समस्या देखिन थालेको छ । विशेष गरी अस्वस्थकर जीवनशैली र खानपानका कारण यस्तो समस्या बढेको हो । सेतो पानी बग्नेको सामान्य र जटिल अवस्था हुन्छ :
सामान्य अवस्था
कहिलेकाहीँ कारणविनै सेतो पानी बग्ने गर्छ । त्यसलाई त्यति धेरै जटिल मानिँदैन । कसैलाई इन्फेक्सनका कारणले यस्तो प्रकृतिको पानी बग्ने गर्छ । त्यस्तै, दूध चुसाउने आमाको पनि सेतो पानी बग्न सक्छ । यसलाई सामान्य अवस्थाको रूपमा लिइन्छ ।
परिवार नियोजनका विभिन्न साधन प्रयोग गर्नेहरूमा पनि सेतो पानी बग्ने समस्या हुन्छ । त्यसैले यस्ता साधनको प्रयोगमा सावधानी अपनाउन जरुरी हुन्छ । यद्यपि, यसरी उत्पन्न भएको समस्यालाई त्यति धेरै गम्भीर रूपमा चाहिँ लिनुपर्दैन ।
महिनावारी भएको केही समयअघि र पछि सेतो पानी बग्ने हुन सक्छ । महिनावारी भएको १५ दिनपछि यस्तो क्रम बढ्दै जान्छ र महिनावारीपछि रोकिने हुन्छ । सलाई सामान्य अवस्थाको रूपमा लिइन्छ ।
जटिल अवस्था
सेतो पानी बग्ने समस्याले कहिलेकाहीँ जटिल रूप लिन सक्छ । बाह्रै महिना पानी बगिरहने समस्या छ भने यसलाई जटिल रूपमा लिनुपर्छ । यस्तो अवस्थामा चिकित्सककहाँ पुग्नका लागि ढिला गर्नुहुँदैन ।
यौनअंगको सरसफाइपश्चात् पनि नराम्रो गन्ध आउने, चिलाउनेजस्ता समस्या देखिएमा सजग हुनुपर्छ । यस्तो अवस्थामा पहेँलो कलरको, रगत मिसिएजस्तो र दहीजस्तो बाक्लो पानी आउने गरेमा तत्काल जाँच गरी समाधानको उपाय खेज्नतर्फ लाग्नुपर्छ । कहिलेकाहीँ ढिक्का–ढिक्का पानी बग्ने गर्छ । जुन इन्फेक्सनका कारण पनि हुन सक्छ ।
के गर्ने ?
यस्ता असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्नुको विकल्प हुँदैन ।
यस्ता समस्या भएका महिलाले खानामा विशेष ध्यान दिनुपर्छ । जंकफुडको प्रयोग र अव्यवस्थित जीवनशैलीका कारण पनि यस्तो समस्या बढ्न सक्छ । हरेक महिलाको सेतो पानी बग्ने गर्छ । तर, असामान्य लक्षण देखिएमा इन्फेक्सन भएको हुन सक्छ । यसले जटिल रूप पनि लिन सक्छ ।
यस्ता महिलामा पाठेघरमा समस्या, बच्चा नहुनेलगायत जटिलता देखिन सक्ने भएकाले समयमै उपचार गर्न जरुरी हुन्छ ।
– नयाँ पत्रिकाबाट