काठमाडौं–आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्रका जोखिम सार्वजनिक गरेका छन् । दुवै संसद्मा श्वेतपत्र सार्वजनिक गरेलगत्तै शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खतिवडाले ‘समग्र आर्थिक परिसूचकहरू नकारात्मक रहेको र बजेट अनुशासन उल्लंघन गरिएको’ भन्दै चिन्ता व्यक्त गरेको उल्लेख छ ।


ADVERTISEMENT


‘बजेट अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी लगभग रित्तो छ,’ उनले भने । चालु आर्थिक वर्षमा तोकिएको सीमाको ८० प्रतिशत आन्तरिक ऋण उठाइसकिएको छ । उनले बजेटमा प्रस्ताव गरिएका योजना पूरा गर्न २ खर्ब रकम अपुग हुने बताए । ‘स्रोत नै नभई बजेटको आकार बढाउन मनोगत आधारमा स्रोत देखाइएको छ,’ उनले भने, ‘वैदेशिक सहायता प्राप्त हुन्छ भन्ने अड्कल गरिएका कतिपय आयोजनामा कुनै छलफलसम्म भएको छैन ।’


ADVERTISEMENT

# # #


‘अत्यन्त गोप्य राखिने बजेट निर्माणमा खेलाची हुने गरेको’ तथ्य खतिवडा अर्थमन्त्री भएपछि सार्वजनिक भएको हो ।

समाचारमा गत वर्षको बजेटबाट १ खर्ब २ अर्ब बच्ने भन्दै तत्कालीन बजेट निर्माणमा संलग्न अधिकारीहरूले हचुवाका भरमा कार्यक्रम राखेका थिए, जबकि गत वर्ष ४८ अर्ब घाटा देखिएको पनि उल्लेख छ । त्यतिबेला वैदेशिक सहायता र संस्थानहरूबाट आउन नसक्ने रकमसमेत जोडेर बजेट विनियोजन गरिएकाले खतिवडालाई वित्तीय सन्तुलन कायम राख्न कठिन भएको छ ।

राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था प्रस्तुत गर्दै अर्थमन्त्रीले ‘थोरै भएको पुँजीगत बजेट खर्च हुन नसक्नु र दुरुपयोग बढ्दै जानुले बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको’ मा पनि चिन्ता व्यक्त गरे । ‘जथाभावी बजेट निर्माणमा संलग्न अधिकारीहरू अझै मन्त्रालयमै छन्,’ अर्थका एक अधिकारीले भने, ‘नयाँ तवरबाट जान धेरै सुधार आवश्यक छ ।’ पूर्वअर्थमन्त्री रामशरण महतले पनि सुधार आवश्यक भइसकेको बताए । ‘अझै पनि अर्थतन्त्रको आधार बिग्रिसकेको छैन,’ उनले भने, ‘सुधारको काम व्यवहारमा देखाउनुपर्छ ।’ –  आजको कान्तिपुर दैनिकबाट