काठमाडौं–एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ ।


ADVERTISEMENT


१३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो ।


ADVERTISEMENT

# # #


एकीकृत पार्टी कस्तो बन्दै छ ?
–समाजवादको बाटोः शान्तिपूर्ण प्रतिस्पर्धा
–समाजवादको मोडलः बहुलवादी विशेषताको समाजवाद
–नेपाली समाजको चरित्रः दलाल पुँजीवाद हाबी

अरू दलबारे राजनीतिक प्रतिवेदन के भन्छ ?
कांग्रेस पुँजीपतिको पार्टी, नारा हास्यास्पद
नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व कांग्रेसले गर्छ । उसको आर्थिक नीतिकै कारण देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन । उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’को नारा हास्यास्पद ढोंगमा परिणत भएको छ ।

राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ । सरकारमा गएर पटकपटक अलोकतान्त्रिक काम गरेको छ । वर्गीय र वैचारिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले कांग्रेस संघर्ष र प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति हो ।

फोरमसँग सहकार्य राजपाप्रति आक्रामक
संघीय समाजवादी फोरम ढुलमुल देखिए पनि राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढंगले उभिन्छ । कमजोर पक्षको आलोचना गर्दै सहकार्यलाई प्राथमिकता दिनुपर्दछ ।

राष्ट्रिय जनता पार्टी जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्छ । यसले मजदुर, किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु विरुद्धमा उभिने गर्छ । राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले दलाल र आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ।

साना वामपन्थीसँग एकताको नीति
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा, नेत्रविक्रम चन्द समूह र अन्य कम्युनिस्ट तथा वामपन्थी समूह एक वा अर्को रूपमा क्रियाशील छन् । उनीहरूको उग्रवामपन्थी, जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्दछ । उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ ।

राप्रपा जनताबाट अस्वीकृत
राप्रपा (पशुपति राणा) गणतन्त्र र परिवर्तनको पक्षमा देखिए पनि दृढ छैन । अरू दुई समूह राजतन्त्रका पक्षमा छन् । यी तीनवटै समूहले हिन्दूराज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन् । अहिलेको निर्वाचनबाट राप्रपाका सबै समूह जनताबाट पूरै अस्वीकृत भएका छन् ।