काठमाडौं – आगामी असार मसान्तसम्ममा दुरदराजसम्मका सबै नेपालीले पनि वाणिज्य बैंकबाट वित्तीय सेवा उपभोग गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले बाँकी ३५९ स्थानीय तहमा असारभित्रै शाखा खोल्न निर्देशन दिएको हो ।
बुधबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी अभियानअनुसार असार मसान्तभित्र शाखा खोल्नुपर्ने बताएको हो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले शाखा विस्तार गर्ने प्रतिवद्धता जनाएका २४१ स्थानीय तहमा बैशाखभित्रै तथा अन्य ११६ मा असारसम्म शाखा खोलिसक्नुपर्नेछ ।
यसअघि राष्ट्र बैंकले प्रतिवद्धता आएका २४३ तहमा शाखा खोल्ने समय असार मसान्तसम्ममा दिएको थियो ।
साथै राष्ट्र बैंकले शाखा विस्तार सम्बन्धी काम कारबाहीको प्रगति विवरण हरेक महिनाको १५ गते र मसान्तमा गरी १५ र १५ दिनमा बुझाउन समेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशन पालना नगर्ने बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने चेतावनी पनि निर्देशनमा दिइएको छ ।
३५९ वटा स्थानीय तहमा शाखा खोल्नु पर्नेमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिवद्धता आएको थियो । बाँकी ११६ स्थानमध्ये ७६ वटा स्थानीय तहमा शाखा खोल्न बैंकहरु तयार नभएपछि बैंकहरुलाई तोकेरै शाखा खोल्न निर्देशन दिइएको हो ।