दमक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताएका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक सभालाई सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनरत मधेसवादी दललाई समेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास दिलाए ।


ADVERTISEMENT

# # #


सभापति देउवाले वर्तमान सरकारले संसदमा पुनः संविधान संशोधनको प्रस्ताव दर्ता गरेर मधेसका भावनालाई समेट्न चाहेको र त्यसलाई मधेसवादी दल र एमालेले समेत सहयोग गरेर निर्वाचनको माहोल थप बनाउनुपर्नेमा जोड दिए। घोषित मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै सभापति देउवाले दुई दशक जनप्रतिनिधिविहीन स्थानीय तहमा जनताको प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएको जोड दिए ।

नेता रामचन्द्र पौडेलले जनताका सबैखाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने भएकाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्छ भने। महामन्त्री शशाङ्क कोइरालाले मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताए ।

नेता कृष्णप्रसाद सिटौलाले वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकले आर्थिक, सामाजिक प्रगति हासिल गर्ने बताए । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ७ गतेभित्रमा तीनवटै तहको निर्वाचन गराउनु वर्तमान सरकारको प्रमुख कार्यभार भएको जोड दिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू शेखर कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङदम्बे, नेवि सङ्घका सभापति नैनसिंह महर, तरुण दलका सभापति जीतजङ बस्नेत, महिला सङ्घकी सभापति उमा रेग्मी, प्रदेश १ का १४ वटै जिल्ला सभापतिलगायतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई आग्रह गरे ।

सोही अवसरमा विभिन्न जिल्लाबाट अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गरिएको थियो । रासस