काठमाडौं–पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शुक्रबारदेखि हप्ताको दुई दिन यातायातका साधन प्रवेश निषेध गरिएका छन् । पोखरा–लेखनाथ महानगरपालिकाले शुक्रबार र शनिबार सवारी निषेधित क्षेत्र घोषणा गरेको हो ।


ADVERTISEMENT


महानगरपालिका– ६ को पहल, सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम, पर्यटनसँग सम्बन्धित संघसंस्था, स्थानीय र सरोकारवालाहरूको पहलमा हप्ताको दुई दिन सवारी निषेधित क्षेत्र घोषणा गरेको हो । पर्यटकको अध्यधिक चाप हुने भएकाले सो क्षेत्रलाई शुक्रबार र शनिबार साँझ ५ बजेदेखि राति १ बजेसम्म सवारी निषेध घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


अहिले थोरै समय र स्थानमा निषेध सुरु गरिएको र बिस्तारै बढाउँदै लैजाने अधिकारीहरूले बताएका छन् । सुरुमा लेकसाइडको हल्लन चोकदेखि बाराही चोकसम्मको करिब डेढ किलोमिटर क्षेत्रलाई सवारी निषेधित क्षेत्र घोषणा गरेकोे पोखरा–लेखनाथ महानगरपालिका– ६ का अध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए ।

अभियानका लागि सबै तयारी पूरा भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पार्किङ, आवश्यक सूचनाबोर्ड, सुरक्षा र सिसिक्यामेरालगायत सबै कुराको व्यवस्था भइसकेको बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार सवारी व्यवस्थापनका लागि ठूला सवारीलाई पर्यटक बसपार्कमा राखिने छ । त्यसैगरी दुईपांग्रे र साना सवारीका लागि लेकसाइडको हल्लन चोकस्थित क्याम्पिङ चोकको खुला मैदान र बाराही चोकस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेका खाली जग्गामा व्यवस्था गर्ने उनले बताए ।

केही सवारीका भाडाका सवारीसाधनलाई हल्लन चोक र डिहिकोपाटनदेखि फर्काउने तयारी छ । हाल लेकसाइड क्षेत्रका विभिन्न स्थानमा १२ वटा सिसिक्यामेरा सञ्चालनमा रहेका र पार्किङ गरिने स्थानमा थप १२ वटा सिसिक्यामेरा जडान गरी वडा प्रहरी कार्यालय बैदामबाट त्यसको अनुगमन गरिने कार्कीले बताए । उनले सुरक्षाको समेत सबै प्रबन्ध मिलाएको बताए ।

अभियानलाई सफल बनाउन चार समिति गठन भएका छन् । वडाध्यक्ष पहारीको संयोजकत्वमा मूल समिति गठन भएको छ । सुरक्षा व्यवस्थापनका लागि वडा सदस्य विष्णुबहादुर भट्टराई, फोहोरमैला व्यवस्थापनका लागि वडा सदस्य हरिकृष्ण पहारी र सांस्कृतिक गतिविधि सञ्चालन र अन्य कामका लागि वडा सदस्य राममाया विक र पुष्पा पहारीलाई संयोजक तोकिएको छ ।

पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधि एवं सरोकारवालाहरूले अभियानले निरन्तरता पाउनुपर्ने बताएका छन् । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले यसअघि पनि लेकसाइडमा सवारी निषेध गरे पनि सफल नभएको बताए । उनले यस्तो अभियानले निरन्तरता पाउनुपर्ने बताए । व्यवस्थित क्षेत्र बढाउँदै लानुपर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अभियानलाई सफल पार्न पार्किङ र सुरक्षाको तयारी राम्रो हुनुपर्ने र यसलाई व्यवस्थित गर्न सके मात्र अभियान सफल हुने बताए । पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले मुख्य रोडलाई सवारी निषेधित क्षेत्र बनाउँदा त्यसको असर भित्री बाटोमा पर्न नहुने बताए । उनले सवारी नचल्ने दुवै दिन धेरै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।