काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले समयको एक–एक पल, स्रोतको एक–एक थोपा र शक्तिको एक–एक बुँदा लगाएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिवसहित सरकारका सचिव, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारीको संयुक्त भेलालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामान्य समयतालिकाका आधारमा होइन, असाधारण सक्रियतासाथ काम गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


‘यो टिम राष्ट्रको ऐतिहासिक जिम्मेवारी पूरा गर्न बनेको भाग्यशाली टिम हो’, प्रधानमन्त्री ओलीले भने, अहिलेका सबै राष्ट्रिय अभिभारा पूरा गर्न तपाईंहरूले असाधारण भूमिका निर्वाह गर्नुहोस् । ’ सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताउँदै उनले जनताले अनुभूति गर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताउँदै भने, हामीले अब पनि परम्परागत मानसिकताले काम ग¥र्यौं भने देश बनाउन सकिँदैन ।


ADVERTISEMENT

# # #


‘हामी नेपाललाई मगन्तेरहित देश बनाउन चाहन्छौँ’ प्रधानमन्त्री ओलीले भने, सडकमा मागेर दिन कटाउनेले अब रोजगार गरेर आफ्नो परिवार पाल्ने अवसर पाउनेछन् । ऊर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा नेपाल उर्वर भए पनि सधैँ अभाव र गरिबीमा रहनु परेको बताउँदै उनले अब ती स्रोतको सही सदुपयोग गर्ने बेला आएको बताएका छन् ।

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यका लागि पनि सामान्य काम गरेर पुग्दैन, उनले थपे । कर्तव्यबाट च्यूत हुने वा पलायन हुने, जनताको सेवाको कामबाट विभिन्न बहानाबाजी गरेर विमुख हुने कुरा कदापि स्वीकार नहुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘सेवाभावले जनताप्रति समर्पित हुनुहोस्, अनियमितता, दायाँबायाँ गर्ने छुट कसैलाई हुँदैन, सरकारलाई सह्य पनि हुँदैन । ’

प्रधानमन्त्री ओलीले सरुवा बढुवाका लागि नेताको घर धाउने प्रवृत्ति अन्त्य गर्न समेत उनले निर्देशन दिए । ‘भनसुनतिर लाग्ने र नेताको घर धाउने प्रवृत्तिले अब तपाईंको नम्बर बढ्नेवाला छैन, झन् घट्छ’, प्रधानमन्त्री ओलीले चेतावनी दिए ।
सम्पूर्ण निष्ठासाथ सरकार जनताका अपेक्षा पूरा गर्नतर्फ लाग्ने प्रतिबद्धता जनाउँदै उनले यसअघिका सरकारजस्तो यो सरकारलाई गैरजिम्मेवार हुन छुट नरहेको दाबी उनले गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘यो सामान्य अवस्था होइन, असामान्य हो, यो सरकार सामान्य सरकार होइन, असामान्य जिम्मेवारी बोकेको सरकार हो, पाएको जिम्मेवारी त्यही अनुरूप गर्न लाग्नुहोस् । ’

प्रधानमन्त्री ओलीले शान्ति–सुरक्षा खल्बल्याउने, मुलुकको अखण्डतामा आँच पु¥याउने कुनै काम हुन नदिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । संविधानमा उल्लेख भएका जनताको मौलिक हकको सम्बोधन गर्न । भ्रष्ट्राचार अन्त्य गर्न वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । हुन्डीमार्फत हुने रेमिट्यान्सको कारोबार रोक्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, कानुनी बाटोबाट रेमिट्यान्सलाई भित्र्याउने हो भने पनि देशमा अर्बौं रुपियाँ राजस्व सङ्कलन हुन्छ ।

प्रधानमन्त्री ओलीले बागमती सफाइ अभियानबारे समेत प्रश्न उठाएर भने– बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ किन पूर्ण रूपमा सफाइ भएन ? त्यस्ता कामलाई चुस्त बनाउन उनले सचिवहरूलाई निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओलीले करिब डेढ घन्टा सम्बोधन गरेका थिए । उनले हरेक काममा चुस्तता, हरेकको सोचमा सकारात्मक परिवर्तन र मुलुकको समृद्धिलाई ध्यान दिएर काम गर्न आग्रह गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।