काठमाडौं–दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आधारभूत टेलिफोन सेवाको सञ्चालन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्दाको शर्तअनुसार काम नगरेपछि दुई कम्पनी कारवाहीमा परेका छन् । नियायक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटिएल) र स्मार्ट टेलिकमलाई पाँच–पाँच लाख रुपैयाँ जरिवाना गरेको छ ।


ADVERTISEMENT


प्राधिकरणको बोर्ड बैठकले यी दुवै कम्पनीले सञ्चालन अनुमतिपत्र लिँदा लिखित रूपमा प्रस्तुत गरेको ‘रोलआउट प्लान’ उल्लंघन गरेको पाएपछि कारवाही गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


स्मार्ट टेलिकमले २०७० वैसाख २ गते र यूटिएलले २०७३ भदौ २० मा आधारभूत टेलिफोनको सञ्चालन अनुमति पाएका थिए । दुवै कम्पनीले शर्त उल्लंघन गरेकोले कारवाही गरिएको प्राधिरकण प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । दूरसञ्चार ऐन २०५३ को दफा ४७ बमोजिम दुवै कम्पनीलाई कारवाही गरिएको भन्दै उनले दफा २८ बमोजिम सुधार गर्न निर्देशन दिएको उनले बताए ।

‘कुनै व्यक्तिले ऐनबमोजिम अनुमतिपत्र नलिइ वा अनुमति पत्रमा उल्लेखित शर्तहरू पालना नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्ता व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो काम बन्दसमेत गराउन सकिनेछ’ ऐनको दफा ४७ (२) मा भनिएको छ ।–आजको कारोवार दैनिकबाट