काठमाडौं–जिम्बाम्बेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा सीमित भएको छ । एक दिवसीय मान्यता पाएको नेपाल योसँगै विश्व वरियताको १६औं स्थानमा परेको छ । शनिबार सातौं स्थानका लागि भएको प्लेअफ खेलमा नेदरल्याण्डसँग ४५ रनले पराजित हुँदै नेपाल नेपालले यात्रा टुंगयाएको हो ।


ADVERTISEMENT


१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए । ‍५३ बल खेलेका कामीले ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे । सन्दीप लामिछाने १४ रनमा नआउट रहे भने करन केसीले १३ रन जोडे ।

नेपालको ओपनिङ सधैं झैं खराब रह्यो । ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा अर्का ओपनर अनिलकुमार साहले ८ रन मात्र जोडे । आरिफ शेख ५ रन र रोहित कुमार पौडेल शून्य रनमा आउट भए । शक्ति गौचन शून्य रनमा आउट हुँदा ललितले २ रन बनाए ।

नेपाललाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका भान डेर मेर्वेले ४ विकेट लिए । त्यसअघि जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो ।

नेदरल्यान्ड्सका लागि बास डे लिडीले सवैभन्दा बढी ३९ रन जोडेका थिए । यस्तै भान डेर मेर्वे र स्कट इडवार्डले समान २५–२५ रन बटुले। यस्तै ओपनिङ ब्याट्सम्यान म्याक्स ओडोडले २८ रन बनाए ।

नेदरल्यान्ड्सका पिटर सिलरले २३ रन जोडे ।

बलिङतर्फ सोमपाल कामीले ४ विकेट लिए । उनले नेदरल्यान्डका सुरुवती ३ विकेट लिएपछि नेपाल हाबी भएको थियो । सोमपालले वेस्ले वारेसी र वेन कुपरलाई शून्य रनमा आउट गर्दा कप्तान पिटर बोरेनलाई ७ रनमा पेभिलियन फर्काए ।

योसँगै सोमपाल ‘लिस्ट ए’ को खेलमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । सोमपालले ३९ खेलमा खेल्दै ५० विकेट पूरा गरेका हुन् ।

यस्तै सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट हात पार्दा शक्ति गौचनको नाममा १ विकेट रह्यो ।

यसअघिका खेलमा मौका नपाएका शक्तिले बसन्त रेग्मीको स्थानमा खेलेका हुन् ।

शनिबारको खेलसँगै नेपालले जिम्बाम्बे यात्रा सकाएको छ । विश्व एक दिवसीय बरियतामा नेपाल १६औं स्थानमा रहेको छ ।