काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेक कुतर्क गरेर आफ्नो कुर्सीका निम्ति पूरै माओवादी शक्ति एमालेमा विलय गराउन लागेको बताएका छन् ।


ADVERTISEMENT


‘प्रचण्ड’ ले नयाँ शक्तिमा भविष्य नभएको भन्दै नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई पुरानो घरमा फर्कन आग्रह गरेपछि भट्टराईको सो प्रतिक्रिया आएको हो ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्,

प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको पाइड पाइपर अफ ह्यामलिन कविताको सम्झना हुन्छ । मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे झैं प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीकानिम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ । अबका ‘मुसा’ लाटा छैनन् है !

विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका थिए । भट्टराईलाई पटक–पटक आफ्नो पार्टीमा जोडिन आउनुपर्छ भन्दै आएको स्मरण गर्दे प्रचण्डले आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठुलो गल्ती गरेको दाबी गरे ।

फेरी पनि गल्ती सच्याउदै पार्टीमा नफर्के स्वर्गमा पनि भट्टराईले बास नपाउने टिप्पणी प्रचण्डको थियो । उनले भने, “हाम्रो त भनाई बाबुरामजीहरु समेत यही जोडिन आइपुग्नु पर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन । मैले त उतिबेलै भनेको हो । भनेको भने छु बाबुराम जीलाई । गल्ती गर्नुभएको छ तपाईले । ब्लन्डर गर्नुभएको छ । धेरै ठूलो भुल गर्नुभएको छ । यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसंँ जान पाईन्छ । नत्र पोलेको पोल्यै हुन्छ उहाँलाई । दुख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई । ”