नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका सचिव तथा प्रचार विभाग प्रमुख हस्त बहादुर शाहीसंग हिमालय पोष्टले आउँदै गरेको संघको महाधिवेशनको बारेमा कुराकानी गरेको छ ।


ADVERTISEMENT


तपाई युवा संघ नेपालको प्रचार विभाग प्रमुख पनि हुनुहुन्छ । पछिल्लो समय यसको गतिविधि के-कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


युवा संघ नेपालले अहिले तीनवटा काल खण्ड पार गरेको छ । तीन वटा निर्वाचनको बेला युवासंघ नेपालको काँधमा निकै जिम्मेवारी थियो । वाम गठबन्धनलाई सघाउनका लागि, वाम गठबन्धनलाई जिताउनका लागि युवा संघ नेपालले पहल कदमी गर्यो । अहिले प्रधानमन्त्रीले दुई तिहाई मत पाउनु भएको छ । त्यसका लागि पनि युवासंघले निकै ठूलो राजनीतिक भूमिका खेलेको छ । विगतदेखि नै समाजमा भएका विकृति, विसंगतीको निराकरण गर्ने विषयमा, जनताको समृद्धिको पक्षमा यसले निकै योगदान दिएको छ । भोलिका दिनमा पनि यसैगरी काम भइरहन्छ ।

तपाईहरुको महाधिवेशन नभएको पनि धेरै नै भयो । अब यसको तयारी कसरी गरिरहनु भएको छ ?

हामीले गत असोज २२ गतेलाई महाधिवेशनको मिति तय गरेका थियौँ । महाधिवेशनको तयारी देशभर भइरहेको अवस्थामा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भयो । देश निर्वाचनमा होमिरहेको बेलामा हामी महाधिवेशन गर्न सक्दैनथ्यौँ । त्यसले गर्दा उक्त मितिलाई अर्को सूचना ननिकालुञ्जेलसम्मका लागि स्थगित गर्दै निर्वाचनको तयारीमा लाग्यौँ । निर्वाचनमा वाम गठबन्धनले बहुमतसहित पहिलो शक्ति आर्जन गर्यो । अब हामी महाधिवेशन उन्मुख हुन्छौँ । तर त्यसका लागि युवासंघमा थुप्रै समस्याहरु रहेका छन् ।

के के हुन् ती समस्याहरु ?

संगठन सञ्चालनका लागि हाम्रो विधान छ । तर हामी हिजो प्रक्रियाभन्दा बाहिर गयौँ । बाहिर कसरी गयौँ भने हाम्रो सर्वोच्च निकाय भनेको नेतृत्व हो । त्यसको चयन महाधिवेशन मार्फत हुन्छ । तर हामीले एउटा कोठाबाट नेतृत्व चयन गर्ने प्रक्रियाको थालनी गर्यौँ । त्यसो हुँदा अहिले पनि के देखिन्छ भने कतिपय नेता कार्यकर्ताहरु महाधिवेशन भन्दा पनि फुत्त झ्यालबाट नेता बन्न खोजिरहेका छन् । हामीले महाधिवेशन गरौँ भनिरहँदा कसैले पुनर्गठनबाट नेतृत्व चयन गरौँ भन्ने खालका कुराहरु गरिरहेका छन् । महाधिवशेन गरौँ भन्ने र पुनर्गठन गरौँ भन्नेबीचमा अहिले नीतिगत सहमती हुन सकिरहेको छैन ।

समस्या यहीँनेर हो । हामीले जे भएपनि विधानमा भएका कुराहरु अनुसार, यसका मान्यता अनुसार काम गर्नुपर्छ । यदि त्यसो हुन सकेन भने युवा प्रतिनिधि परिषद्को भेलाबाट पनि हामी निर्वाचन गर्न सक्छौँ । बुटवल महाधिवेशनबाट बिग्रेको परम्परा अहिले महाधिवेशनमार्फत सुधार्ने प्रयास भइरहेको थियो । तर बीचमा देशमा विभिन्न किसिमका निर्वाचन हुँदा यो हुन सकेन । त्यसपछि पार्टी एकताको कुराले बीचमा अलमल भयो । अब छिट्टै एकता महाधिवेशनतर्फ अघि बढ्छौँ ।

यो छिट्टै भनेको कहिले हो ? महाधिवेशनमार्फत नयाँ नेतृत्व युवासंघले कहिले पाउँछ ?

अब यसमा पार्टीको निर्देशन अनुसार नै जानुपर्छ । वाम गठबन्धनले बैशाख ९ गर्ते पार्टी एकता गर्ने भनेको छ । त्यो घोषणा अघि हुन्छ वा हुँदैन भन्ने कुरा हामी बैठक बसेर छलफल गर्छौँ । तर त्यसो पनि हुँदैन भने पार्टी एकतापछि वाइसीएल र हामी संगै बसेर एक किसिमको बमिटी गठन गरेर पनि गर्न सक्छौँ ।

नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भएको छ कि छैन ?

अब नेतृत्वको कुरा गर्नुपर्दा युवा संघमा अहिले राजीव पहारी नै हुनुहुन्छ । अधिवेशन नहुँदासम्म युवा संघको नेता उहाँ नै हो । महाधिवेशनपछि उपयुक्त नेता निर्वाचित बनेर आउनु नै होला ।

यो विषयमा सहमती जुट्ला र ?

होइन । विधि विधानलाई ध्यान नदिई फलानो अध्यक्ष भनेर त हुँदैन । वैधानिक व्यस्था अनुसार जाने हो भने अध्यक्ष राजीव पहारी नै हुन् । इन्चार्ज महेन्द्र बहादुर पाण्डे नै हुन् । तर मलाई के लाग्छ भने यी सबै गर्नका लागि हामीले एक खालको बैठक बसेर टुङ्ग्याउनुपर्छ । उहाँ अहिले व्यस्त भएका कारणले बैठक बस्न भ्याउनु भएको छैन ।

युवासंघ नेपालभित्र पहिले देखि नै विभिन्न धारहरु छन् । अझ अहिले फेरि वाइसीएल थपिँदैछ । यसले कत्तिको अप्ठ्यारो पार्छ ?

युवासंघमा त्यस्तो धार नै त भन्न मिल्दैन । विभिन्न सवालमा यसको गर्भिलो इतिहास छ । सामान्य व्यक्तिमा केही कुरामा मत नमिल्नु स्वभाविक नै हो । तर एउटै संगठनभित्र कसेपछि त्यो धार भन्ने कुराहरु मैँले बुझ्दिन । किनभने पार्टीको निर्देशन एउटै हुन्छ । जुन अनुसार नै हामीहरु चल्ने हो नि । कहिलेकाहिँ पार्टीले पनि गलत निर्देशन दियो भने हामी त्यसलाई युवासंघको तर्फबाट हामीले अस्वीकार गछौँ । गरेका पनि छौँ । देशको हितका लागि, युवावर्गको उत्थानका लागि युवासंघले त काम गरिराखेकै हुन्छ । जहाँसम्म एकताको कुरा छ । यो त सामान्य कुरा हो । पार्टी एक भएपछि संगठन त आफै एक भइहाल्छ ।

अब युवा संघको नेतृत्व कस्तो आउनुपर्छ ?

हाम्रो विधानमा प्रत्यक्ष व्यवस्था छ । १६-४० को व्यवस्था हुँदा हुँदै पनि हामीले बुटवलमा भएको नवौँ महाधिवेशनमा एउटा नीति बनायौँ । यसले त्याग तपस्या गरेका थुप्रै साथीहरु बाहिरिनुपर्ने भएकोले ११ महिना ४० दिनका साथीहरुले संगठनको नेतृत्वमा उम्मेदवारी दिन पाउने व्यवस्था गरेका थियौँ । त्यतिबेला कोही साथीहरु ४६ वर्षको पुगिसक्नु भएको थियो । ४६ वर्ष पुगेका साथीहरु त अब ५०/५५ वर्ष हुनलागे । त्यो उमेरका साथीहरुले पनि म युवासंघको नेतृत्वमा जान्छु भन्नु अलिकती लाजमर्दो कुरा हो ।

विधानको पालना सबैले गर्नैपर्छ । संगठनलाई वैचारिक, सैद्धान्तिक तथा राजनैतिक संगठन बनाउनका लागि सबै खालको क्षमता भएको व्यक्ति युवासंघको अध्यक्ष बन्नुपर्छ । जसका लागि हामी पहल कदमी गछौँ । तर पदका लागि मात्रै माथि जाने, संगठनलाई ध्वस्त बनाउने, स्वेच्छाचारी ढंगले संगठनलाई अगाडि बढाउने खालको हुनुहुँदैन ।

अब नयाँ नेतृत्व आएपछि त्यसको एजेण्डाका कुरा पनि आउलान । परिवर्तित समयमा अब युवासंघले कस्तो खालको भूमिका खेल्नुपर्छ ?

मुलुक अब नयाँ बाटोमा अगाडि बढेको छ । विकास र समृद्धि मुलुकको राष्ट्रिय एजेण्डा भएको छ । हामीले विगतमा पनि महत्वपूर्ण भूमिका खेलेकै हौँ । अब अहिले वाम गठबन्धनको सरकार बनेको छ । युवा संघले यो सरकारसंग तीनवटा अपेक्षा राखेको छ । एउटा सरकारी स्तरमा रहेको कमिसनतन्त्र । त्यसलाई अन्त्य गरेर जनतालाई कम्युनिष्ट सरकार भएको अनुभूति दिन सकोस् । अर्को प्रधानमन्त्री केपी ओलीले आफू पनि भष्टाचार गर्दिन र अरुलाई पनि भष्टाचार गर्न दिन्न भनेर भन्नु भएको छ । सरकारले भष्टाचारलाई तुरुन्तै निर्मूल गरोस् । र अर्को, देशमा व्याप्त युवा बेरोजगारी हटाउनका लागि युवा स्वरोजगारका कार्यक्रमहरुको सुरुवात होस् । स्वास्थ्य र शिक्षामा भएको व्यापारिकणलाई अन्त्य गरोस् । अनि मात्रै समृद्धिको एउटा आधार निर्माण हुन्छ । हाम्रो अपेक्षा यिनै हुन्छन् । यसकै लागि हामीले काम गछौँ । दबाब दिइरहन्छौँ ।

अन्त्यमा, देशको परिवर्तनमा युवासंघले आफूलाई अग्र स्थानमा राख्दै आएको अबको युवा आन्दोलन के हो ?

देशमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गर्नेसम्मका आन्दोलनका लागि युवासंघले पटक पटक संघर्ष गर्यो । ती कुराहरु अहिले प्राप्त भएका छन् । राजनीतिक कुराहरु मात्रै नभई राष्ट्रयताका सवालमा, स्वाभिमानका सवालमा, युवा रोजगारीका पनि हामीले आवाज उठाउँदै आएका छौँ । लिपुलेख, कालापानीमा बसेका विदेशी सेनालाई लखेट्ने कुराहरु, भारतको नाकाबन्दीको विरुद्धमा आवाज उठाउने कुराहरुमा हामी खरो उत्रेका छौँ । अब समृद्धिको बाटोमा जानका लागि युवासंघ नेपालका आम युवाहरुलाई एक, युवा एक उत्पादनका लागि हामी काम गछौँ । नयाँ नेतृत्वपछि हामी नयाँ किसिमले जान्छौँ ।