काठमाडौं–संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार निर्वाचन शुरु भएको छ । प्रतिनिधिसभा तर्फबाट सांसद जिपछिरिङ लामा र प्रदेश सभातर्फबाट दामा शर्माले पहिलो मतदान गरेका छन् ।


ADVERTISEMENT


संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई दुवै भोजपुरका प्रतिष्पर्धामा छन् । गणतन्त्र नेपालले डा रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा, राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ । कुल मतदाता संख्या ८८० भएकाले जम्मा मतभार ५२ हजार पाँच सय रहेको छ ।

सांसद रेशमलाल चौधरीका साथै पछि शपथ लिएका राष्ट्रिय सभाका तीन सांसदले भने मतदानमा भाग लिन पाउने छैनन् । राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचत भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ ।

आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ । निर्वाचन आयोगले दोस्रो चरणको चुनाव गर्नु नपर्ने स्थितिमा बेलुकीसम्म राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । चुनाव सकिएलगत्तै गणना सुरु गरेर बेलुकीसम्म परिणाम सार्वजनिक गर्न सकिने आयोगले जनाएको छ ।

विद्याको जीत सुनिश्चित
एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका ६६६ सांसदको समर्थन वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा रहेकाले उनको पक्षमा मत ३९ हजार ७०९ देखिएको छ । संविधानअनुसार विजय हुन कम्तीमा ५० प्रतिशत कटाउनुपर्छ जुन २६ हजार ३४४ मत हो ।

उता, कांग्रेस उम्मेदवार लक्ष्मी राईका पक्षमा काँग्रेसका १८९ सांसदको समर्थन रहेकाले उनको पक्षमा ११ हजार ४२८ मत रहेको देखिन्छ छ । बाँकी मत भने १० ओटा साना दलको रहेको छ । उनीहरूको मत एक हजार ६४९ छ ।